काठमाडौं- २१ वर्षको उमेरमा स-साना बालबालिकाले तारावदन सेढाईंलाई ‘ममी’ भनेर बोलाउँथे। अविवाहित तारालाई ममी सम्बोधन गर्दा नमज्जा लाग्थ्यो। तर, विस्तारै उनलाई तिनै बालबालिकाको मायाले डोर्याउँदै लग्यो। र, आफूले सन्तानलाई जन्म दिनुअघि नै उनमा मातृत्व झल्किन थाल्यो।
त्यसो त, ५४ वर्षीया तारा अहिले २७ वर्षीय छोराकी आमा हुन्। यो अवधिसम्म उनको छत्रछायामा थुप्रै बालबालिका हुर्किएका छन्। तीमध्ये केही अहिले पनि ममी भन्दै भेट्न आइरहन्छन्। त्यसकारण पनि उनलाई आफू एक मात्र सन्तानको आमा हुँ भन्ने लाग्दैन।
प्रेरणादायी तारा !
गोरखाको पालुङटार नगरपालिकामा जन्मेकी तारा नेपाली समाजकी एक उदाहरणीय पात्र हुन्। उनको जीवन यात्राले हरकोहीलाई प्रेरित गर्छ।
भोजराज सेढाईं र गणेशकुमारी पाण्डेकी पहिलो सन्तान हुन्, उनी। त्यतिबेलाको हुनेखाने परिवारमा जन्मेकी उनको बाल्यकाल ७ भाइबहिनीको माझमा निकै सुखका साथ बित्यो। बाल्यकालको धेरै समय उनले मामाघरमा बिताइन्। र, पहिलोपटक विद्यालय शिक्षाको आरम्भ पनि मामाघरबाटै गरिन्।
भाइ जन्मेपछि उनको दैनिकी भाइकै हेरचाहमा बित्न थाल्यो। मेलपात, घाँसदाउरा गर्न उनी बचपनदेखि नै सिपालु थिइन्। धेरैले उनको उदाहरण दिई आफ्ना छोरी-छोरीलाई सुनाउँथे।
उनी मात्र १३ वर्षकी थिइन्। गाउँकै साथीसँग घाँसदाउरा गर्न जंगल पुगेकी उनले त्यहाँ चितुवा देखिन्। र, हतारिँदै सबै साथी भएतिर आइन्। सतर्कताका साथ उनीहरू घाँसको भारी बोकी घरतिर लागे। चितुवाको डरले हतारिँदै हिँड्दा उनी बाटोमा चिप्लेर लडिन्। तर, शुरुमा शारीरिक रूपमा असहज महशुस गरिनन्। घाँसको भारी आफैंले घरसम्म पुर्याइन्।
तर, घरपुगेको केही छिनपछि उनको खुट्टाको जोर्नी दुख्न थाल्यो। केही छिनमै उनको दुखाइ दोब्बर भयो, ज्वरो पनि आउन थाल्यो। एक्कासी स्वास्थ्यमा गडबडी देखिपछि उनलाई ‘जान्ने’कोमा झारफुक गर्न लगियो। तर पनि, उनको स्वास्थ्य बीसको उन्नाइस भएन। गाउँमा त्यो समयमा अस्पताल थिएन। पारिवारिक सल्लाहपछि उनलाई उपचारका लागि डोलीमा राखेर तनहुँ लैजाने निर्णय भयो। करिब ३-४ घण्टापछि उनलाई तनहुँको एक मेडिकलमा पुर्याइयो। तर, उनको उपचार गर्न मेडिकलमा न त उपकरण थिए, न दक्ष स्वास्थ्यकर्मी नै। एक दिन सोही मेडिकलमा बसेर अर्को दिन उनी बुवासँग उपचार गराउन पोखरा पुगिन्।
पोखराको गण्डकी अस्पताल निकै नाम चलेको थियो। उपचार सम्भव हुन्छ कि भनेर बुवाले उनलाई त्यतै लगे। पहिलो दिन उनलाई बेड पाउन गाह्रो भयो। दुई दिनपछि उनको अवस्था बिग्रँदै गएकाले बल्ल अस्पतालले भर्ना गर्न मान्यो। बेड खाली नभइसकेकाले एक रात उनले चिसो भुईंमै कटाउनुपर्यो।
तारालाई अहिले पनि स्मरण छ, गण्डकी अस्पतालमा उपचारको क्रममा त्यहाँका नर्सहरूले उनीसँग गरेको व्यवहार। उनलाई चिसो भुईंबाट उचालेर बेडमा राख्ने क्रममा रिसाउँदै मान्छे सानी भए पनि कति गह्रौं रहिछ भनेका थिए नर्सहरूले।
उनी पीडामा छटपटाइरहेकी थिइन्। तर, नर्सहरूले आफूप्रति गरेको व्यवहारले मनमनै एक दिन आफू पनि नर्स बनेर मिठो बचनले बिरामीको सेवा गरी मन जित्ने अठोट गरिरहेकी थिइन्।
केही दिन अस्पतालमै बसेर उपचारपछि उनी पहिलेजस्तै सामान्य भइन्। आफैं हिँड्दै घरसम्म पुगिन्। परिवारमा हर्ष छायो। तर, केही दिनपछि फेरि खुट्टा दुख्न थाल्यो। गाउँमै धामीझाँक्रीले झारफुक गर्न थाले। अनि, गोरखाको मिसन अस्पतालमा ४५ दिन उपचारपछि उनी सञ्चो भएर घर आइन्।
तर, फेरि केही समयपछि ताराको खुट्टा दुख्न थाल्यो। त्यसपछि गाउँघरमै झारफुकमा उनको समय बित्न थाल्यो। झारफुक गरेको केही वर्षपछि उनको दुखाइ त कम भयो। तर, उनको खुट्टा पहिलेजस्तै हुन सकेन। बांगो खुट्टा भएपछि उनले घुँडामा हात राख्दै हिँड्नुपर्ने भयो।
साथीभाइले पनि स-सानो कुरामा उनको अशक्तताको खिल्ली उडाउन थाले। छरछिमेकीले उनका अभिभावकसँग विवाह नभए छोरासरह अंश दिनुपर्ने भयो भन्दै अनावश्यक टिप्पणी गर्थे। ती सबै कुराले तारालाई भित्रभित्र पिरोल्थ्यो। उनी कसैको बोझ भएर बाँच्न चाहँदैनथिन्। सोही कारण उनलाई आफ्नो जीवन व्यर्थ लाग्न थाल्यो।
एकपटक उनलाई काठमाडौं वीर अस्पतालमा ल्याइयो। त्यो समयमा हड्डीको क्षयरोग (टीबी) भएको आशंकामा उनलाई ६ महिना औषधि खान सल्लाह दिइयो। उनले ६ महिना टीबीको औषधि खाइन्। तर, खुट्टामा अलिकति पनि फरक आएन।
जहाँ जसो गर्दा पनि खुट्टा सञ्चो नभएपछि उनको मनमा आत्महत्याको सोच पलाउन थाल्यो। काठमाडौंबाट घर फर्कंदा मर्स्याङ्दी नदीको पुलबाट हाम फाल्ने सोच बनाइन्। तर, आमाको मायाले उनलाई घरतिरै डोर्यायो। र, उनले नदीमा ज्यान फाल्न सकिनन्।
उपचारका लागि उनलाई भारतको लखनऊस्थित सैनिक अस्पताल पुर्याइयो। तीन महिना लखनऊ अस्पतालमा राख्दा उनको खुट्टामा के समस्या छ भन्नेसमेत पत्ता लागेन।
त्यसपछि उनले पढाइलाई निरन्तरता दिने सोच बनाइन्। र, स्कुल जान थालिन्। एसएलसी उत्तीर्ण गरिन्। पाँच वर्षसम्म उनले कुप्रिएरै हिँडडुल गर्नुपर्यो।
सोही क्रममा उनी ‘सेभ द चिल्ड्रेन’ संस्थासँग जोडिन पुगिन्। उक्त संस्थाले उनकै गाउँमा काम गर्दै आएको थियो। त्यस संस्थामा आबद्ध एक अमेरिकी महिलाले तारालाई देखिन्। र, उनको फोटो खिचेर बी एन्ड बी अस्पताल (त्यतिबेला काठमाडौं नर्सिङ होम)का संस्थापक प्राध्यापक डा. अशोककुमार बाँस्कोटासामु पुर्याइदिइन्। डा. बाँस्कोटाले फोटो देख्नेबित्तिकै तारालाई उपचारका लागि काठमाडौं बोलाए।
बुवासँग उनी फेरि उपचारका लागि काठमाडौं आइपुगिन्। त्यो समयमा उनी र उनका अभिभावकले आशा मारिसकेका थिए। ३-३ महिना भारतको लखनऊमा बस्दा त केही हुन सकेन, फोटोमै देखेको भरमा के सञ्चो होला भन्ने सवाल सबैको मन थियो। तर पनि, एकपटक विचार गरौं न त भनेर भोजराज सेढाईं आफैं छोरीलाई काठमाडौं लिएर आए।
काठमाडौं नर्सिङ होममा डा. बाँस्कोटालाई भेटेपछि तारालाई भोलिपल्टै भर्ना गरियो। र, उनको खुट्टाको सफल शल्यक्रिया भयो। अर्को दिन होश आउँदा उनी लम्पसार शरीरमा सीधा सुतेकी थिइन्। त्यसअघि उनको शरीर कुप्रो परेजस्तै भएको थियो। उनलाई सपनाझैं लाग्न थाल्यो। ५-५ वर्षदेखि घुँडामा हात राखेर हिँडिरहेकी उनी कुप्रो भइसकेकी थिइन्। सुत्दा पनि त्यसैगरी सुत्नुपर्थ्यो। सीधा ढाड गरेर सुत्न सकेकामा उनलाई विश्वास गर्न गाह्रो भयो।
शल्यक्रियाको ६ दिनपछि उनलाई सामान्य बेडमा सारियो। बेडमा सर्दा उनले पाँच वर्षपछि दुवै खुट्टा सीधा भुईंमा टेकिन्। त्यो समयमा आफू निकै अग्ली भएको महशुस भयो उनलाई। त्यसपछि त उनको खुशीको सीमा नै थिएन।
डा. बाँस्कोटाले दिएको नयाँ जीवन !
तारा डा. बाँस्कोटालाई आफ्ना लागि भगवानको वरदानभन्दा पनि माथि सम्झिन्छिन्। नेपालकै हेल्थ पायोनियर डा. बाँस्कोटासँग अहिले त ३०-३५ जना अर्थोपेडिक चिकित्सकहरूको टिम छ। त्यतिबेला भने एक्लै शल्यक्रिया गरी आफ्नो जीवनको दिशा नै परिवर्तन गरिदिएकामा डा. बाँस्कोटाप्रति उनी कृतार्थ छिन्।
भन्छिन्, ‘भगवान भन्दै मन्दिर पुग्छौं हामी। तर, त्यहाँ भगवान देखिँदैनन्। त्यो हाम्रो आस्था मात्र हो। जसले दुखमा साथ दिन्छ, त्यो नै भगवान् हो। डा. बाँस्कोटाले मेरो र मजस्ता थुप्रै बालबालिकाको जीवनमा भगवानस्वरूप आएर नयाँ जीवन दिनुभएको छ।’
सात दिनपछि उनको डिस्चार्ज भयो। र, उनी जोरपाटीस्थित नेपाल अपांग संघको छात्रावासमा बस्न थालिन्। त्यसपछिको सम्पूर्ण उपचार अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमै भयो। उनको उपचार पनि अस्पतालले निःशूल्क गरिदियो।
उपचार भएकै अस्पतालमा कर्मचारी
बिरामी बनेर आएकी तारालाई आफ्नै उपचार भएको अस्पतालमा कर्मचारी भएर काम गर्ने अवसर मिल्यो। उनले १९ वैशाख ०४२ देखि अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी)मा हाउस मदरको रूपमा काम गर्न थालिन्।
मात्र २०-२२ वर्षको उमेर थियो त्यो। उनको काम अस्पतालमा उपचारार्थ आएका बालबालिकाहरूको हेरचाह गर्नु थियो। अविवाहित उनी एकाएक शारीरिक अशक्तताको उपचारमा आएका धेरै कलिला नानी-बाबुहरूकी ममी बनिन्। र, त्यो नै उनको दैनिकी बन्यो।
त्यसपछि उक्त अस्पताल जोरपाटीबाट धोवीघाटमा भाडाको भवनमा सर्यो। अस्पताल सरेपछि उनको पोस्ट पनि बन्यो। अनि उनी एजुकेटर बनिन्। अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई पढाउने, खेलाउने काममा उनी व्यस्त रहन थालिन्।
सन् २००१ देखि उनी नेपाल अपांग मानव अधिकार केन्द्रमा समेत जोडिएकी छन्। केन्द्रको कार्यकारी सदस्य बनेर जोडिएकी उनी तीन वर्षपछि उपाध्यक्ष अनि ७ वर्षयता अध्यक्षको जिम्मेवारीमा छिन्।
सानो छँदा उनले गरेको माया, स्नेह र केयरकै कारण केही व्यक्ति आमा भन्दै अहिले पनि भेट्न अस्पताल अनि घरसम्मै पुग्छन्। त्यो समयको गुन सम्झँदै अहिले पनि आमा भनेर भेट्न आउँदा उनको हर्षको सीमा हुँदैन। जीवनमा आफूले केही गर्न सकेको र आफ्नो जीवन सार्थक भएको उनी महशुस गर्छिन्।
एचआरडीसीमा करिब ३५ वर्षको सेवापछि ताराले २१ चैतमा अवकाश पाएकी छन्। डा. बाँस्कोटा आफैं उनको विदाइ समारोहमा उपस्थित भएर उनको आगामी जीवन अझ उज्ज्वल हुने कामना गरे।
ताराको जीवन यात्राको हरेक पाइलामा साथ र हौसला दिँदै जीवन साँच्चै सुन्दर बनाउन मद्दत गरेका उनका श्रीमान अनिलकुमार पौड्यालले अवकाशको अन्तिम दिनमा लेखे, ‘आज एउटा युगको अन्त्य भएको छ। तर यो तिम्रो लागि रोमाञ्चक, नयाँ अवसर र साहसिक कार्यको शुरुवात पनि हो। तिमीले हासिल गरेका सबै कुरामा र तिम्रो व्यक्तित्वमा मलाई धेरै गर्व छ। तिम्रो दृढ संकल्प, जोश र कडा परिश्रम साँच्चै प्रेरणादायी रहने छन्। तिमीले आफ्नो सेवा तथा सहकर्मीहरूबाट बिदाई लिए पनि र यो अध्याय बन्द भए पनि विश्वस्त रहनु कि मबाट जीवनको हरेक पाइलामा तिमीले अझ धेरै माया र खुशी पाउने छौ। आजबाट हाम्रो लागि नयाँ शुरुवात, अनन्त सम्भावनाहरू र सुन्दर यात्राहरूको दिन शुरु भएको छ। तिम्रो कामको अन्तिम दिनको लागि बधाइ छ, मेरो माया।’
उनले अस्पतालमा पुर्याएको योगदान स्मरण गर्दै डम्बरदेव हडखलेले सामाजिक सञ्जालमा लेखे- ‘दिदी हजुरको लामो सेवाकालीन जीवन अति महत्त्वपूर्ण, सफल र सम्झनयोग्य रह्यो। हार्दिक बधाइ छ, अबको अवकासपूर्ण समय खुशी र सुखी रहोस्।’
यस्तै, विनय जोशी घोडासैनीले सामाजिक सञ्जालमै उनको योगदान सम्झिँदै लेखे, ‘ दिदीलाई अपांगता भएका बालबालिकाका लागि अस्पताल र पुनर्वास केन्द्रमा आफ्नो लामो र समर्पित सेवा पूरा गरेकोमा बधाइ छ। तपाईंको दया र सक्रिय संलग्नता, दुवै अस्पतालभित्र र तपाईंको समुदायमा, साँच्चै तपाईंको असाधारण चरित्र प्रतिबिम्बित गर्छ। सेवाको क्रममा मात्र नभई बाहिर पनि देखाउनुभएको सामाजिक कार्यप्रतिको तपाईंको जोश साँच्चै प्रशंसनीय छ। निरन्तर आनन्द, दया र सफलताले भरिपूर्ण भविष्यको पूर्ण र इनामदायी भविष्यको लागि शुभकामना। भगवानले तपाईंलाई सधैंभरि आशिष दिउन्।’
उनकै छत्रछायामा नयाँ जीवन पाएकी विनिता खड्का श्रेष्ठले लेखिन्, ‘तारा ममी जीवनको ३ दशक एचआरडीसीमामा हजुरले मलगायत लाखौं अपांगता भएका बालबालिकाहरूको जीवनमा सधैं सकारात्मक रूपमा अभिभावक बनी सेवा दिनुभयो। मेरो जीवनमा पनि हजुरले एउटा उपचारमा आएकी म १० वर्षकी बालिकादेखि सहकर्मी बनी एकै थलोमा काम गर्दासम्म हजुरको माया, साथ, प्रेरणा, हौसला र सहकार्यप्रति हृदयदेखि नै आभार प्रकट गर्दै अबको बाँकी यात्रा खुशी, उत्साह र उमंगका साथ बितोस्। ह्याप्पी रिटायरमेन्ट लाइफ ममी।’
अवकाश जीवनमा जाँदै गर्दा ताराप्रति सामाजिक सञ्जालमा व्यक्त यी भावनाले नै एचआरडीसीमा उनको ३ दशकको यात्रा कति महत्त्वपूर्ण थियो भन्ने झल्काउँछन्।
एचआरडीसीमा नातिनीको खुट्टाको उपचार गर्न आएकी बाजुराकी परू दानीले ताराले आफूहरूलाई गरेको सहयोग स्मरण गर्छिन्। उमेरले ७० पुग्नै लागेकी परूका लागि ताराले अस्पतालमा अभिभावकको जिम्मेवारी बहन गरेकी थिइन्। आफ्नी नातिनीलाई आफ्नै छोरीजस्तै माया, स्नेह दिएकामा उनी ताराप्रति कृतज्ञ छिन्।
सुख-दुःखका कुरा गर्दै हौसला बढाउने ताराले अस्पताल सदाका लागि छोड्दा कसरी दिनहरू कटाउने भन्ने ठम्याइसकेकी छैनन्। मुस्कुराउँदै सबैसँग नजिक बन्ने बानीले हुनसक्छ बिरामीले तारामा आफ्नोपन भेटाउँछन्। आफ्नोभन्दा अर्काको खुशी देख्ने, सबैलाई आफ्नै ठान्ने र सबैको दुःख आफ्नै सम्झने तारा एचआरडीसीकी एक खम्बा हुन् भन्दा फरक पर्दैन।
कुनै दिन शारीरिक रूपमा अशक्त रहँदा ताराले के मात्रै सुन्नु परेन। अब के गर्न सक्छे र ? यत्रो ठूलो उमेरमा स्कुल गएर के गर्ने हो र ? कसले विवाह गर्छ उसँग ? छोराजस्तै अंश दिएर माइतीघरमै राख्नुपर्छ। आदि इत्यादि। तर, आज ताराले हिजो आफूबारे अनेक टीका टिप्पणी गर्नेहरूले आफ्नै सन्तानबाट पाउने नसकेको इज्जत र सम्मान पाएकी छन्।
जस्तोसुकै परिस्थिति आए पनि हरेस खानु हुँदैन। सबैभन्दा ठूलो शिक्षा हो। आफूसँग शिक्षा भयो भने जस्तोसुकै अवस्थामा पनि गरेर खान सकिन्छ भन्ने बलियो उदाहरण बनेकी छन्, तारा। त्यसैले त हो, उनी धेरैको प्रेरणाको स्रोत बनेकी छन्।