काठमाडौं- नियमित रूपमा योग गर्ने मानिसमा सकरात्मक सोचको विकास हुन्छ। उनीहरू बौद्धिक रूपमा पनि सबल हुन्छन्।
अत्यधिक व्यस्तता, स्वस्थ खानपान र शारीरिक कसरतको अभावलगायत कारणले शहरी जीवन सकसपूर्ण बन्दै गएको छ। शहरवासीमा स्वास्थ्यसम्बन्धी धेरै जटिलता देखिन थालेका छन्। यस्ता समस्या निम्तिन नदिन हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ। रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रूपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योग।
अस्थिर मनलाई स्थिर बनाउने कार्य नै योग हो। अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्बलताबाट सबलतातर्फ र सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा नै योग हो।
नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ। योगका फाइदा यस्ता छन्ः
शारीरिक तन्दुरुस्ती
योग गर्नेको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुन्छ। सामाजिक हुनका लागि पनि यसले सहयोग गर्छ। नियमित रूपमा योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन सक्छ। उनीहरू बौद्धिक रूपमा पनि सबल हुन्छन्।
आध्यात्मिक पक्ष
योग गर्ने मानिस प्रायः आध्यात्मिक प्रकृतिका हुन्छन्। योगले नै उनीहरूमा आध्यात्मिक चिन्तन विकास गर्दै लैजाने हो। यसले गर्दा शरीरमा सकारात्मक ऊर्जा थपिन्छ।
पाचन प्रक्रिया सहज
योग गरेपछि शरीरका आन्द्रालगायत अन्य अंगमा पर्याप्त कसरत पुग्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ।
स्फूर्त शरीरका लागि
योग गर्नाले शरीर फुर्तिलो हुन्छ। पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ। शरीरका अंग चलायमान हुन्छन्, ताजापन आउँछ। त्यस्तै, अनुहारमा चमकता ल्याउँछ।
युवापनको अनुभूति
नियमित योग गर्दा मानिस निरोगी हुन्छ। यसले गर्दा ऊ जहिल्यै युवा र हट्टाकट्टा देखिन्छ।