तनहुँ । जिल्लाको व्यास नगरपालिका ४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टापछि नियन्त्रणमा आएको हो ।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । ‘हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ,’ उनले भने ।
आगलागीबाट पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो । साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो ।
सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो । हेलिकप्टरले आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ ।