नयाँदिल्ली- डेंगुविरुद्ध भारतमा खोप तयार भएको छ।
हैदरावादस्थित ‘इन्डियन इम्युनोलोजिकल्स लिमिटेड (आईआईएल)’ले लामखुट्टेबाट लाग्ने डेंगु रोगविरुद्ध खोप तयार भएको दाबी गरेको हो।
आईआईएलका प्रबन्ध निर्देशक डा. आनन्द कुमारले उक्त खोपको सबै परीक्षण सफलतापूर्वक सम्पन्न हुने क्रममा रहेको बताए। सन् २०२६ को मध्यदेखि उक्त खोप मानिसलाई दिन सकिने उनको भनाइ छ।
उनका अनुसार खोपको पहिलो चरणको परीक्षण पूरा भएको छ। दोस्रो र तेस्रो चरणको परीक्षण पनि छिट्टै शुरु हुने उनले जानकारी दिए।
उक्त खोप डेंगु मात्र नभई जिका भाइरस र क्यासानुर फरेस्ट डिजिजविरुद्ध पनि उपयोगी हुने अपेक्षा रहेको आईआईएलले दाबी गरेको छ।
आईआईएल भारतको केन्द्रीय मत्स्य, पशुपालन तथा डेरी मन्त्रालय मातहतको ‘नेसनल डेरी डेभेलपमेन्ट बोर्ड’को पूर्ण स्वामित्त्ववाला कम्पनी हो।
एक रिपोर्टअनुसार संसारभर बर्सेनि डेंगुका १० करोड बिरामी भेटिने गरेका छन्। भारतमा यो संख्या करिब ३ करोड ५० लाख हुने गर्छ।