काठमाडौँ । संविधानविद् डा. पृथ्वीमान राईले न्यायपालिका स्वतन्त्र र निस्पक्ष हुनु पर्ने बताएका छन् । पछिल्लो समय देशमा न्यायपालिकामाथि हस्तक्षेप भएको र न्यायालय अस्तव्यस्त भएको उनको टिप्पणी छ । उनले अहिले न्यायालयमाथि आक्रमण मात्रै नभएर षड्यन्त्र भइरहेको आरोप लगाए ।
आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले अहिले न्यायालयमाथि बज्रपात भएको र नेपालको सार्वभौमिकतालाई हनन गर्ने गरी ध्वस्त पार्ने कदम भएको टिप्पणी गरे । उनले न्यायालयमा सिण्डिकेट खडा गर्नेले दम्भ र अहम देखाएर देशलाई बन्धक बनाएको आरोप लगाए ।
राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त गर्नका लागि पछिल्लो समय षड्यन्त्र भएको उनको आरोप छ । उनले बारमा सिण्डिकेट खडा गर्नेले चरम राजनीति गरेको बताउँदै आफूहरुले विकृति र विसंगतिविरुद्ध सशक्त रुपमा लाग्ने बताए ।
विश्ववक्ता बाबा होमबहादुर कार्कीले न्यायालयमा भएको विकृति हट्नु पर्नेमा जोड दिए । उनले जनताले न्याय पाउने सर्वोच्च निकाय सर्वोच्च अदालतलाई पंगु बनाउने काम दलका नेताहरुले गर्नु गलत भएको टिप्पणी गरे ।
उनले अहिले सरकारसम्बन्ध गठबन्धनमा आवद्ध दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु गलत भएको बताए । जनताले न्याय पाउने थलोमाथि नै यस्तो प्रहार गर्नु गलत भएको उनको जिकिर थियो । प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर प्रधानमन्त्रीले गल्ती गरेको उनको टिप्पणी थियो ।
यस्तै, अधिवक्ता त्रिलोकबहादुर चन्दले अहिले राज्यका तीन वटै अंग ध्वस्त बनाइएको गुनासो पोखे । उनले भने, ‘यो महाभियोग पार्टीका झोले, देशद्रोहीको हस्ताक्षर चोरेर लगाइयो, देवेन्द्र कँडेलले नै यो महाभियोग झुक्याएर लगाइयो भनेर भन्नु भएको छ, कतिपय सांसदलाई त महाभियोगबारे थाहा नै छैन ।’