काठमाडौं- स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्नाजस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्छ। माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट यो रोग लाग्छ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुर्यान हुने ठाउँमा देखिने गर्छ।
कसरी सर्छ ?
मुसामा लाग्ने किर्नाजस्तो देखिने कीरा (माइट) को टोकाइबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा भने सर्दैन।
लक्षणहरू
– धेरै ज्वरो आउनु (काम ज्वरोसमेत आउन सक्छ)
– धेरै टाउको दुख्नु
– पसिना धेरै आउनु
– आँखा रातो हुनु
– झाडापखाला लाग्नु
– कीराले (माइट) टोकेको ठाउँमा रातो डाबरजस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
बच्ने उपाय
– खेतबारीमा काम गर्दा, वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँसम्म बुट लगाउने।
– घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने।
– सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने।
– सकेसम्म घाँसबारी र चौरमा नबस्ने।
– चौर, बारी, झाडी, घाँस तथा घुर्यान बढ्न नदिने।
– मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरण सिर्जना गर्ने।
– स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ।