बराहक्षेत्र– पहाडी जिल्लाबाट सप्तकोशी नदी हुदै बराहक्षेत्र नगरपालिका वडा नं १-२ भित्रिने बाँसको निकासी पैठारी गरे बापत नगरपालिकाले ठेक्का नं १०-२०८०/८० का लागि ६८ हजार ४०० रुपैयाँमा ठेक्का लगाएको थियो।
उक्त ठेक्का बराहक्षेत्र नगरपालिका वडा नं ७ बाङ्गे निवासी बाबुराम रिजालले सकारेका थिए। ठेकेदार रिजालले सम्झौता बिपरित वडा नं १-२ बाट काठ निकासी पैठारी गर्ने व्यक्तिहरूसँग अबैधानिक तरिकाले आफु खुशी बिल छपाई मनोमानी तरिकाले रकम असुल उपर गरिरहेको रहस्य खुलेको छ।
ठेक्कापट्टा गर्ने स्थानिय सुरेश कार्कीका अनुसार आफुले काठ तथा बाँसको ठेक्का भर्न नगरपालिका जाँदा बाँसको मात्र ठेक्का खुलेको सुचना पाएका थिए, काठको ठेक्का नखुलेको थाहा पाएपछि कार्की ठेक्का नभरी रित्तो हात फर्किए ।
ठेकेदार बाबुराम रिजालले सम्झौता बिपरित काठको पनि ठेक्का पारेको भन्दै काठ तथा बाँसको निकासी रसिद छपाइ रिजालले आफु खुशी सम्झौता बिपरित अबैधानिक तरिकाले काठ लाने व्यक्तिहरूसँग रकम असुल उपर गर्दापनि बासको ठेक्का लगाउने नगरपालिका पशुपतीनाथ अगाडिको निर्जीव बसाह झै मौन बसेको आरोप लगाएका छन।
बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लसँग बुझ्दा मल्लले भने पहिला पहिला काठ तथा बाँसको ठेक्का लगाइने तर यो सालदेखि बाँसको मात्र ठेक्का लगाएको बताए। उनले ठेकेदारले काठको राजस्व उठाउनु सम्झौता बिपरित र गैरकानुनी कार्य भएको बताए।

