उनीहरूले भाइब्रेटिङको माध्यमबाट सेलहरू ध्वस्त पार्ने विधि पत्ता लगाएका हुन्। ‘नियर-इन्फ्रारेड लाइट’बाट भाइब्रेट गराएर क्यान्सरका सेलहरू नष्ट गर्ने विधि प्रयोगशाला परीक्षणमा पत्ता लागेको हो। त्यस्तो विधिबाट क्यान्सरका सेलहरूलाई तोड्न सफलता मिलेको वैज्ञानिकहरूले बताएका छन्।
‘एमिनोसायनिन अणु’हरूलाई यसअघि पनि बायोइमेजिङमा सिन्थेटिक रंगका रूपमा प्रयोग गरिन्थ्यो। यसलाई क्यान्सर पत्ता लगाउन पनि प्रयोग गरिन्थ्यो। यस्ता अणुहरू पानीमा स्थिर रहन्छन्। र, आफूलाई कोशिकाहरूको बाहिर जोड्न सहज हुन्छन्।
अमेरिकाको टेक्सासस्थित राइस विश्वविद्यालय तथा टेक्सास विश्वविद्यालयको संयुक्त शोध टोलीले भाइब्रेटिङ विधिबाट क्यान्सरका सेलहरू तोड्न सकिने विधि पत्ता लगाएका हुन्।
हालसम्म उपयोग गरिँदै आएको क्यान्सर नाशक आणविक मेसिन, जसलाई फेरिंगा प्रकारको मोटर नाम दिइएको छ, को तुलनामा यो नयाँ विधि बढी प्रभावकारी हुने वैज्ञानिकहरूको राय छ। यस विधिले समस्याग्रस्त कोशिकाहरूलाई नष्ट गर्न सकिने उनीहरूले बताएका छन्।
‘यो आणविक मेसिनको नयाँ पिँढी हो, जसलाई आणविक ज्याकह्यामर भनिन्छ,’ राइस विश्वविद्यालयका रसायनशास्त्री जेम्स टुर भन्छन्, ‘यो अहिलेसम्म प्रयोग हुँदै आएको मोटरहरूको तुलनामा आफ्नो यान्त्रिक गतिमा १० लाख गुणा तेज छन्। र, दृश्य प्रकासको तुलनामा ‘नियर-इन्फ्रारेड लाइट’ अधिक सक्रिय गराउन सकिन्छ।’
‘नियर-इन्फ्रारेड लाइट’ शरीरमा गहिराइसम्म जान सक्षम रहेको पत्ता लागेको छ। र, क्यान्सर बढ्न नदिन हड्डी र शरीरका अंगहरूमा यसको उपयोग गर्न सकिने अपेक्षा छ। यो नयाँ विधि प्रयोगशालामा ९९ प्रतिशत सफल देखिएको छ। यसको पहिलो प्रयोग मेलेनोमा ट्युमर पलाएका मुसामाथि गरिएको छ।
यसको प्रयोग मानिसमा कति सफल हुन्छ भन्ने हेर्न बाँकी रहेको वैज्ञानिकहरूको भनाइ छ।
साइन्स अलर्टबाट