काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र शुक्रबार भएको उक्त फ्लाइटका कारण अन्य उडान नियमित हुन सकेका थिएनन् ।
आज दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
‘क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौँ,’ उनले भने, ‘केही जहाज अवतरण गराएका थियौँ, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ ।’
करिब दुई घण्टा भएको उक्त फ्लाइटका कारण आज बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए ।
आकासमै होल्ड भएका जहाज अहिले अवतरण भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त क्यालिब्रेशन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिए ।