काठमाडौँ । जारी रुस–युक्रेनको युद्धसँगै विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढ्दै ११७ डलर पुगेको हो ।
त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै सबैभन्दा उच्च स्थानमा पुगेको हो ।
रुसले युक्रेनका मुख्य शहरमा तीव्र गतिमा आक्रमण बढाउँदै आएको छ । जसका कारण कच्चा तेलको मूल्य महँगिन पुगेको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकको सूचीमा रुस तेस्रो स्थानमा पर्छ । यस्तै, धेरै ग्यास निर्यात गर्ने देशको सूचीमा दोस्रो स्थानमा रहेको छ ।
विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले धानिरहेको छ । अमेरिका, बेलायत, क्यानडालगायतका मुलुकहरुले रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने बताउँदै आएका छन् । कच्चा तेलको मूल्य बढेसँगै नेपालमा ठूलो असर परिसकेको छ ।
भारतबाट नेपाल आयल निगमलाई तेलको मूल्य उच्च दरमा बढेर आएको छ । यसले नेपाल आयल निगमलाई तेलको मूल्य बढाउन दबाब परेको छ ।