नयाँदिल्ली- हरेक मुलुकका आ-आफ्नै विशेषता हुन्छन्। र, भान्सामा पनि मौलिक परिकार पाक्छन्। अनि भान्सामै औषधीय गुणले भरिपूर्ण मसलाहरू उपलब्ध हुन्छन्।
दक्षिण एसियाली मुलुकका भान्सामा सहजै उपलब्ध हुने बेसारमा क्यान्सरविरुद्ध लड्न सक्ने तत्व हुन्छ। बेसारमा पाइने करक्युमिन तत्वले क्यान्सरका कोशिकाहरूलाई समाप्त पारिदिन्छ। ब्रेस्ट क्यान्सर, पेटको क्यान्सर, ग्यास्ट्रिक र ल्युकेमिया क्यान्सरको उपचारमा बेसार लाभदायी पाइएको छ।
एक अध्ययनअनुसार भान्सामा सहजै उपलब्ध मसलाहरू लङ क्यान्सर, ब्रेस्ट क्यान्सर, कोलन क्यान्सर, सर्भाकल क्यान्सर, मुखको क्यान्सर, थाइराइड क्यान्सरका सेल बढ्न नदिन निकै उपयोगी पाइएका छन्। यस्ता मसलाहरूले शरीरमा कुनै प्रकारको हानी पुर्याउँदैनन्।
यस्तै, मरिच पनि शरीरका लागि निकै उपयोगी मसला हो। मरिचकै खोजीमा भास्को डी गामाले भारतसम्मको कठिन यात्रा गरेको इतिहासमा पढ्न पाइन्छ।
सुक्खा अदुवा पनि शरीरका लागि उपयोगी मसला हो। पहिलो शताब्दीमा जापानमा अदुवाको माग उच्च थियो, जुन दक्षिण एसियाली मुलुकबाट पूर्ति हुन्थ्यो। पछि यहींबाट १६ औं शताब्दीमा अमेरिका र ११ औं शताब्दीमा बेलायत लगियो अदुवा। १४ औं शताब्दीमा बेलायतमा ५०० ग्राम सुक्खा अदुवाको साटो एउटा भेडा साटिन्थ्यो।
यसैगरी, भान्सामा सहजै उपलब्ध अलैंचीको सबैभन्दा ठूलो उत्पादक हो, नेपाल। त्यसबाहेक भारत, भुटान, चीन, तान्जानिया र ग्वाटेमालामा पनि अलैंची उत्पादन हुन्छ। यो सबैभन्दा पुरानो अमूल्य मसला हो। अलैंचीलाई मसलाकी रानी पनि भनिन्छ।
ल्वाङ पनि भान्सामा सहजै उपलब्ध मसला हो। यसको मुख्य उत्पादन इन्डोनेसियामा हुन्छ। जन्जिबार ल्वाङको सर्वाधिक उत्पादन गर्ने मुलुक हो।
भान्सामा सहजै पाइने तेज पत्ता पनि बहुउपयोगी मसला हो। प्राचीन ग्रिस र रोम सभ्यताबाट यो संसारभर फैलिएको मानिन्छ। पुलाउ, बिर्यानी, चिकेन र खीरको स्वाद बढाउन यसको उपयोग गरिन्छ।
यस्तै, दक्षिण एसियामा ५ हजार वर्षभन्दा अघिदेखि दालचिनीको उपयोग हुँदै आएको छ। यो नेपालसहित भारत, श्रीलंका र म्यानमारमा प्रशस्त पाइन्छ। प्राचीन रोमबाट यसको उपयोग शुरु भएको मानिन्छ। यस्तै, जाईफल र जावित्री पनि भान्सामा सहजै उपलब्ध हुने उपयोग मसलाहरू हुन्।