काठमाडौं- चितवन राप्ती नागरपालिका-४ डडुवास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ३४ वर्षीय केदार चौलागाईको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली मरिण गाउँपालिका-६ भुताहास्थित सडकमा ना.५१ प ७६१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट घर भएका २५ वर्षीय सविन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रौतहट घर भएका ४२ वर्षीय राकेश यादवको मोडेल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको छ ।
रसुवा उत्तरगया गाउँपालिका-२ नयाँ बस्तीस्थित सडकमा बा.५ ख १८८१ नम्बरको गाडीबाट खसेर गाडीको चक्काले किच्दा सोही ठाउँ बस्ने ५५ वर्षीय मंगले तामाङको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।