नेपाल पर्वतारोहण संघले जापानको निप्पोन फाउन्डेसनको आर्थिक सहायतामा पर्वतारोहीहरूलाई सोमबारदेखि राहत सामग्री वितरण थालेको छ।
राहत सामग्री वितरण थाल्नुअघि काठमाडौंस्थित संघको कार्यालय परिसरमा शुभारम्भ समारोह आयोजना गरिएको थियो। पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र संघका अध्यक्ष शान्तवीर लामाले राहत वितरण शुरु गरेका थिए।
समारोहमा पर्वतारोहीहरूलाई चामल, दाल, नुन र खाने तेल वितरण गरिएको थियो। चर्चित पर्वतारोही श्रीमती माया शेर्पा र मिङ्मा ग्याबु शेर्पा, संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ तथा बोर्ड सदस्यहरू सार्की तामाङ, सिङ्गी लामालगायत समारोहमा सहभागी भएका थिए।
पहिलो दिन संघका बुक होल्डर दुई सय दुईजना पर्वतारोहीले राहतस्वरूप खाद्य सामग्री बुझेका छन्। उनीहरूलाई जनही ५० किलो चामल, पाँच किलो दाल, दुई किलो आयोनुन र दुई लिटर खानेतेल वितरण गरिएको थियो।
यो साताभर पर्वतारोहीलाई खाद्यान्न उपलब्ध गराइने संघले जनाएको छ। सोही परिमाणको खाद्य सामग्री तीन हजार पर्वतारोहीलाई प्रदान गरिने संघको भनाइ छ। पहिलो चरणमा एक हजार ६०० पर्वतारोही छनोट भएका छन्। नक्साल नागपोखरीस्थित संघको कार्यालय र कपनबाट खाद्य सामग्री उपलब्ध गराइँदै छ।
संघका ११ हजार पाँच सय सदस्यमध्येबाट खाद्य सामग्री उपलब्ध गराइने तीन हजार पर्वतारोही छनोट भएका हुन्।
समारोहमा निप्पोन फाउन्डेसनका कार्यक्रम निर्देशक वडा माकोटो र मासुडा रेमी पनि जुममार्फत सहभागी भएका थिए।