मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ। यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ।
शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन्। महाशिवरात्रिको समापनसँगै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको देखिँदो छ। जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमाको मगरथानास्थित मङ्गलनाथ र बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर वरिपरि बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएका छन्।
शिवालयमा आज एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएका जलसेचन गर्नेछन्। सामान्यतया तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन्। जताततै शिव महिमाका भजन गुञ्जिएका छन्।
महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा प्रारम्भ गरिन्छ। फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित श्री रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्निकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोलाअघि लगाइन्छ।
यो यात्रामा बाजागाजासाथ श्री जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउहरु गङ्गासागर र धनुषसागरको प्रदिक्षण गर्दै धनुषाकै हनुमानगढीमा रात्रिबास गरिन्छ। यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ।
राससबाट