Advertisement
सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्न तयार भएकामा सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्।
माओवादीले आइतबार बिहान केन्द्रीय कार्यालयको विस्तारित बैठकमार्फत व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा श्रेष्ठले आपत्ति जनाएका हुन्।
‘पाँच दलीय गठबन्धनमा अध्यक्ष कमरेड प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ। यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ।’