रुसी सेना राजधानी किभमा प्रवेश गरिसकेको युक्रेनले बताएको छ। युक्रेनको रक्षा मन्त्रालय ट्विट गर्दै यसको पुष्टि गरेको हो।
‘दुश्मन किभको नौ किलोमिटर दूरीमा छन्। हाम्रो सेनालाई जवाफी कारवाही चलाउन निर्देशन दिएका छौँ,’ रक्षा मन्त्रालयले भनेको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा रुसी सेनाका ट्यांकहरू किभ नजिकको ओबोलोन क्षेत्रमा पुगिसकेको देखाइएको छ। स्थानीय बासिन्दाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।
रुसले बिहीबार बिहानैदेखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो। त्यसपछि लगातार युक्रेनभित्र रुसी सेना अगाडि बढिरकेको छ।
रुसी सेनाले दर्जनौँ सार्वजनिक स्थलमा आक्रमण गरिसकेको छ। तीमध्ये अधिकांश सर्वसाधारण बसोबास गर्ने इलाका छन्। नागरिक बसोबास गर्ने इलाकामा आक्रमण नगर्ने आफ्नै प्रतिबद्धता पनि रुसले उल्लंघन गरेको छ। पछिल्लो २४ घण्टामा ३३ वटा बस्तीमा आक्रमण गरिसकेको छ।
घना बस्ती रहेका इलाकामा पनि रुसी सेनाले चलाएको गोलीको आवाज सुनिएको छ। रुसको आक्रमणका कारण ठूला भवनमा आगलागी भएको पनि देखिएको छ।