विख्यात अमेरिकी प्राध्यापक नोम चोम्स्कीले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लोकतन्त्र समाप्त पार्दै गएको टिप्पणी गरेका छन्।
प्राध्यापक चोम्स्की अमेरिकी भाषाविद्, दार्शनिक, संज्ञानात्मक वैज्ञानिक, इतिहासकार, समाजिक अभियन्ता र राजनीतिक कार्यकर्तासहित बहुआयामिक व्यक्तित्व हुन्, चोम्स्की। भारतमा ‘इस्लामोफोबिया’ बढाएर मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्रमाथि निरन्तर प्रहार गरिरहेको उनको आरोप छ।
घृणायुक्त भाषणबाजी र हिंसाका कारण विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिने भारतको लोकतन्त्र संकटमा रहेको उनको भनाइ छ। भारतमा साम्प्रदायिकता मुद्दामाथि अमेरिकास्थित प्रवासी भारतीय संगठनहरूले आयोजना गरेको कार्यक्रममा चोम्स्कीले मोदी सरकारको खुलेर आलोचना गरे।
‘इस्लामोफोबियाको प्रभावबाट पश्चिमा मुलुक पनि अछुतो छैनन्। तर, भारतमा यसले आफ्नो सबैभन्दा घातक स्वरूप लिएको छ,’ उनले भने, ‘नरेन्द्र मोदीको सरकारले भारतीय धर्मनिरपेक्ष लोकतन्त्रलाई व्यवस्थित रूपमा समाप्त गर्दैछ। र, हिन्दू राष्ट्र बनाउने दिशामा उद्यत छ।’
मोदीको दक्षिणपन्थी शासनमा कश्मीरलगायत क्षेत्रमा अत्याचारले सीमा नाघेको चोम्स्कीको आरोप छ।
‘दक्षिण एसियामै दुःखदायी स्थिति देखिन्छ। त्यो पाकिस्तानमा पनि छ। यस भयानक अवस्थाबाट दक्षिण एसियालाई बचाउन कदम चाल्नु जरुरी छ। तर, त्यही भइरहेको छैन,’ उनले भने, ‘यो केवल दक्षिण एसियामा सीमित छैन अपितु यसको ठूलो जिम्मेवारी पश्चिमा धनी मुलुकहरूको पनि हो।’