भैरहवा– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्षले प्रमुख प्रसासकिय अधिकृतमाथि हातपात गरेका छन्।
उपाध्यक्ष होमप्रकाश चौधरी लालाले प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीको कार्यकक्षमै पुगी उनीमाथि हातपात गरेका हुन्। उनले हातपातसँगै कार्यकक्षमा भएका सामान तोडफोडसमेत गरेका छन्। उपाध्यक्ष चौधरीले गाउँपालिकाको सेवा सुविधालाई लिएर हातपात गरेका हुन्। उपाध्यक्षले पटक-पटक यस्तो अभद्र व्यवहार गरेको कार्यपालिका सदस्य र वडाअध्यक्षको दाबी छ।
उनले विगतदेखि नै गुण्डागर्दी काम दोहोर्याउदै आएको पालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए। उपाध्यक्षले पूर्व योजना बनाई विद्युतीय लाइन र जेनरेटर अफ गरी सीसी क्यामेरामा कैद नहुने गरी हातपात गरेको प्रत्यक्षदर्शीको भनाइ छ।
कार्यपालिका सदस्य प्रिन्सिकुमार श्रीवास्तवले उपाध्यक्षले सदस्यहरूको केही अधिकार छैन भन्दै सुनिता पासीलाई गालीगलौज गरेको र वडा नं. १ का अध्यक्ष तिलकराम यादवलाई पनि यसअघि हातपात गरेको बताए।
पालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार श्रीवास्तवले उपाध्यक्षको व्यवहारले कार्यालयमा काम गर्ने वातावरण नभएको बताउँदै उपाध्यक्षलाई कानूनी कारवाही नभएसम्म काम गर्न नसकिने बताए।
उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको व्यवहार खेदजनक रहेको कार्यरत कर्मचारीहरूले बताएका छन्।