बुटवल– नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अर्थतन्त्रको संकट समाधानको स्पष्ट योजना आफुहरूसँग रहेकाे बताएका छन्। साेही याेजना बाेकेर आफूहरू जागरण अभियानमा होमिएको उनले बताएका छन। उनले देशको उद्योग धन्दा धारासायी हुँदा देशको अर्थतन्त्र संकटग्रस्त भएको बताउँदै अब कृषि, वन र आफ्नै खनिजमा आधारित उद्योगहरुको प्रवर्द्धन गर्नुपर्ने बताए।
नेकपा एकिकृत समाजवादीको मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत सोमबार बिहान बुटवलमा उद्योगी व्यवसायीहरुसँग गरिएको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नीतिगत रुपमा दलाल र विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन। उनले प्रधानमन्त्री, मन्त्री र उच्चतहका कर्मचारीहरुको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा पुरै धारासायी बनाएको टिप्पणी गरे।
‘प्रधानमन्त्रीको मिलेमतो, कि मन्त्रीको मिलेमतो हुन्छ, यदि प्रधानमन्त्री मन्त्रीको मिलेमतो नभए निरीह वा अयोग्य हुन्छ’ नेपालले भने ‘यसका लागि भ्रष्टाचारका विरुद्ध अभियान चलाउनुपर्छ,देशको उद्योगव्वसया फस्टाउने गरी नीति बनाउनुपर्छ।’
उनले व्यवसायीहरुमाथि अहिले वित्तिय शोषण समेत भइरहेको बताउँदै करनीति, भन्सार नीति र स्वदेशी उद्योगको विकास गरी रोजगारी सृजनाका लागि आफ्नो पार्टीका तर्फबाट पहल कदमी गर्ने बताए। उनले बैंकहरुले अर्बो मुनाफा कमाएपनि उद्योगधन्दाको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन नसकेको बताए। ‘अर्बले मुनाफा कमाईरहेका बैंकहरुले लगानीमा उत्साह दिनुपर्छ, कृषिमा सहुलियत दिएर रोजगारी सृजना गर्ने उद्योगधन्दा खोल्दा मुलुकका लागि फाईदा पुग्छ’ नेपालले भने ‘त्यसैले सन्तुलन कायम गरेर काम गर्न आवश्यक छ।’
उनले अहिले मुलुकको आर्थिक संकट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिका जनसारोकारको मुद्धालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान शुरु गरिएको बताए। उनले मुलुकको आर्थिक संकट, उद्योगी व्यवसायीहरुले भोगेका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीसँग छलफल गर्ने समेत बताए। ‘विपक्षी दललाई समेत राखेर आर्थिक संकट, रोजगारी र सुशासका बिषयमा छलफल गर्नुपर्नेछ’ नेपालले भने।
उनले विपक्षी एमालेले असहयोग गरेको बताउँदै विपक्षीलाई पनि साथमै लिएर अगाडि बढ्नुपर्ने पक्षमा आफूहरु रहेको बताए। तर, विपक्षी एमालेले नेकपा एकिकृत समाजवादीसँग बस्दा गन्ध आउने भन्दै नबस्ने भनेको सुनेको भन्दै व्यंग्य गरे। ‘हाम्रो श्वास गन्हाउँछ भन्नुहुन्छ, बास्ना आउनेहरुसँग बसे हुन्छ’ अध्यक्ष नेपालले भने ‘मुलुकको राष्ट्रियता र स्वदेशमै रोजगारी सृजना गरी आर्थिक संकटबाट पार लाग्ने कुरामा सबै गम्भिर बन्नुपर्छ।’
उनले अर्थतन्त्रमा देखा परेको संकटका बारेमा समाजवादी जागरण अभियानबाट प्राप्त सुझाव र निष्र्कषहरुलाई प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरी कार्यान्वयन गर्न दवाव दिने समेत बताए।
अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, मूल्यअभिबृद्धि करमा बृद्धि, कच्चा पदार्थको अभाव जस्ता समस्याहरु भोगेको भन्दै आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए।
अन्तर्क्रिया कार्यक्रममा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतको उपस्थिती थियो। कार्यक्रम पार्टी जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादवको अध्यक्षता, उपाध्यक्ष चिनबहादुर गुरुङको स्वागत, उपसचिव टंक पोखरेलको सञ्चालनमा भएको थियो।