काठमाडौं- भारतले एकै वर्ष नेपालसहित आठ मुलुकमा चार करोड ८४ लाख २० हजार अमेरिकी डलरबराबरका साइकल निर्यात गरेको छ।
त्यो भनेको करिब तीन अर्ब ६१ करोड ४५ लाख ५३ हजार भारतीय रुपैयाँ हुन आउँछ। ‘फेडेरेसन अफ इन्डियन एक्स्पोर्ट अर्गानाइजेसन (एफआईईओ)’को आँकडाले साइकल निर्यातको उक्त परिमाण देखाएको हो।
नेपाल, मोजाम्बिक, युगान्डा, बेलायत, जाम्बिया, नेदरल्यान्ड्स, पोल्यान्ड र जर्मनी भारतमा निर्मित साइकलका मुख्य बजार हुन्। ती मुलुकमा सन् २०२०-२१ (आर्थिक वर्ष)मा उक्त परिमाणका साइकल निर्यात भएका हुन्।
त्यस वर्ष ती मुलुकमा साइकलको माग अघिल्ला वर्षको तुलनामा वृद्धि देखिएको एफआईईओले उल्लेख गरेको छ।
भारतमा साइकल उत्पादक धेरै कम्पनी छन्। तर, २५ वटा कम्पनीलाई मुख्य उत्पादक मानिन्छ। तीमध्ये ‘हिरो’ ब्रान्ड अत्यधिक रुचाइएको छ। पञ्जाबको लुधियानामा कारखाना रहेको यो कम्पनीले दैनिक ५० हजार थानभन्दा बढी साइकल उत्पादन गर्छ। भारतले यो ब्रान्डको साइकल ७० भन्दा बढी मुलुकमा निर्यात गर्छ।
यस्तै, बढी मन पराइएको दोस्रो नम्बर आउँछ एटलस साइकल। यो भारतको दोस्रो ठूलो साइकल उत्पादक कम्पनी हो। एटलसले नै भारतमा पहिलोपटक ‘रेसिङ बाइसाइकल’ बजारमा ल्याएको थियो।
अर्को ब्रान्ड हो, फायरफक्स साइकलको। यो कम्पनीले बालबालिका, शहरी क्षेत्र, माउन्टेन र अफरोड बाइसाइकल निर्माणमा ख्याति कमाएको छ। यस कम्पनीले शहरी क्षेत्र र अफरोड दुवैका लागि उपयुक्त हुने हाइब्रिड साइकल पनि उत्पादन गर्छ।
यस्तै, हर्कुलस साइकलले पनि भारतीय बजारमा ख्याति कमाएको छ। हर्कुलस ब्रान्डका गियरवाला साइकल बढी लोकप्रिय छन्। एभन ब्रान्डको साइकल पनि भारत र विदेशी बजारमा खुबै चलेको छ। यसको कारखाना पनि पञ्जाबको लुधियानामा छ।
ह्युज, मोन्ट्रा, म्याच सिटी, बीटीविन, क्यान्नोडेल, बियान्ची, जीटी, मोन्गुज, ट्रेक, कस्मिक, स्विन, जायन्ट, रिड्ले, क्रस, स्नेल र मेरिडा पनि भारत र विदेशमा पनि रुचाइएका साइकल ब्रान्ड हुन्।
भारतमा निर्मित रली ब्रान्डको साइकल इंग्ल्यान्डमा लोकप्रिय छ। यस्तै, भारतमा बन्ने ‘स्पेसलाइज्ड’ ब्रान्डको साइकल अमेरिकामा प्रतिष्ठित मानिन्छ।
एक अनौपचारिक तथ्यांकअनुसार भारतमा बर्सेनि डेढ करोडदेखि दुई करोड २० लाख थानसम्म साइकल बन्ने गरेको अनुमान छ। बर्सेनि साइकल उत्पादन र बिक्रीवापत सात हजार करोड भारतीय रुपैयाँको कारोबार हुने अनुमान छ। चीनपछि भारत विश्वको दोस्रो ठूलो साइकल उत्पादक मुलुक हो।
इन्डिया टुडेको रिपोर्टअनुसार भारतको साइकल उद्योग बर्सेनि सामान्यतया पाँचदेखि सात प्रतिशतका दरले बढोत्तरी हुने गरेको छ। तर, कोरोना महामारी शुरु भएयता भारतको साइकल उद्योगमा १५ देखि २० प्रतिशतको बढोत्तरी देखिएको उद्योगीहरूले बताएका छन्।