काठमाडौं- कोरोना प्रसारको जोखिम बढ्दै जाँदा प्रहरीले काठमाडौंमा सञ्चालित अधिकांश क्यासिनो पनि बिहीबारदेखि बन्द गराएको छ।
जिल्ला प्रशासन कार्यालयले ४ माघमा जारी गरेको आदेशअनुसार प्रहरीले अधिकांश क्यासिनोमा पुगेर अर्को आदेश नभएसम्मका लागि बन्द राख्न आग्रह गरेको थियो।
सोही आग्रहअनुसार काठमाडौंका अधिकांश क्यासिनो बन्द पनि भए। तर, स्रोतका अनुसार होटल अन्नपूर्णको एटलान्टिक रिक्रिएसन, होटल मल्लको बेल्लिज नेपाल प्रालि र होटल हायातको क्यासिनो प्राइड बाहिर बन्द देखाएर भित्रभित्रै खुला छन्।
‘हामीले बन्द गर्यौँ, तीनवटा होटलका क्यासिनो भित्रभित्रै खुला छन्,’ एक पाँचतारे होटलको क्यासिनोका कर्मचारीले नेपाली हेडलाइनसँग भने, ‘सबै बन्द गर्ने हो भने अनुगमन पनि बलियो बनाउनुपर्यो नि।’
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोना प्रसार हुन नदिन क्यासिनोहरूलाई पनि आफ्ना गतिविधि बन्द राख्न आग्रह गरिएको जानकारी दिए। केही क्यासिनो खुला रहेकोबारे प्रशासनलाई जानकारी नभएको उनको भनाइ छ।
काठमाडौंकी निमित्त प्रजिअ सुप्रभा खनाल ढुंगलले ४ माघमा जारी गरेको सूचनाको बुँदा नम्बर ३ मा ‘सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ १५ सम्म सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ। उक्त आदेश उल्लंघन गर्दै केही क्यासिनोले आफ्ना ग्राहकलाई प्रवेश दिएका हुन्।
स्रोतका अनुसार अलि बढी खर्च गर्न सक्ने भारतीय, चिनियाँ र बंगलादेशी ग्राहकलाई ती क्यासिनोले प्रवेश दिएका छन्। कम खर्च गर्ने ग्राहकलाई भने प्रवेश दिएका छैनन्।