काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौंको सामाखुशीमा ‘मड्का फुटाउने’ प्रतियोगिता आयोजना गरिएको छ।
सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले बताए। प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो। याे प्रतियाेगिता विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उनले बताए।
“पार्क नजिकै सडकको माथि डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ”, केसीले भने। मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ।
यसवर्ष ११ पटकको प्रयासपछि उक्त मड्का फुटाइएको हो। प्रतियोगिताका विजेता टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गरे।
आजै साना बालबालिकाका लागि घैंँटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो। घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही एक हजार प्रदान गरिएको आयोजकले बताएकाे छ।