सुनसरी- हरिद्वार कृषि सहकारी संस्था लिमिटेड बराहक्षेत्रले शुद्ध र गुणस्तरीय बेसारको धुलो बजारमा पठाइरहेको छ।
बराहक्षेत्र नगरपालिका-२ बयरवनस्थित सिंहदेवी टोलमा उक्त सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बेसार उद्योग सञ्चालनमा ल्याएको छ। आफ्नो निजी भवन, मेसिनलगायत ३२ लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको छ। स्थानीय कृषक सेयर सदस्यबाट खरिद गरी प्रशोधनपछि शुद्ध र गुणस्तरीय बेसार स्थानीय बजारमा बिक्री वितरण गरिरहेको छ।

कृषकहरूको आय, आर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बेसार उद्योगका साथमा कुटानी-पिसानी मिल सञ्चालन गरिएको सहकारीका अध्यक्ष लोकबहादुर दाहालले जानकारी दिए। उनका अनुसार बराहक्षेत्र-१ चावचामा ०६३ सालमा २५ जना अगुवा कृषकले समूह गठन गरेका थिए। ०७१ सालमा हरिद्वार कृषि सहकारी संस्था लिमिटेड दर्ता भई सञ्चालन आएको थियो।
संस्थामा हाल ३१ जना सेयर सदस्य छन्। सदस्यहरूको परिवारलाई आय आर्जन र घरखर्चमा राहत पुगोस् भन्ने सोचका साथ कुटानी, पिसानीमा बजार मूल्यभन्दा ३० प्रतिशत छुटको सुविधा दिइएको दाहालले जानकारी दिए।
बेसार उत्पादनको दृष्टिले बराहक्षेत्र-१ का अर्चले, सूर्यकुण्ड, धापा, मुलगाउँ, बान्द्रे, फुलबारी, चावाचा, चियाबारी, कटारेलगायत अधिकांश भूभाग उपयुक्त मानिन्छन्। स्थानीय कृष्ण भण्डारीका अनुसार त्यस क्षेत्रका अधिकांश कृषकले नगदे बालीका रूपमा बेसार खेती गरेका छन्। बराहक्षेत्र-१ का गाउँहरू देशकै गुणस्तरीय बेसार उत्पादन हुने पकेट क्षेत्रका रूपमा परिचित छन्।

बेसार भान्सामा अत्यधिक प्रयोग हुने मसला हो। र, यसलाई भान्सामै उपलब्ध महत्त्वपूर्ण औषधि पनि मानिन्छ।
स्थानीयस्तरमा उत्पादित बेसार उत्पादन र प्रशोधनपछि प्याकेजिङ र लेबलिङ गरी बजारमा पुर्याउन सहकारीले मद्दत गरिरहेको छ। सहकारीले यसको ब्रान्ड नाम ‘बराह बेसार’ राखेको छ। कोशी प्रदेशको बजारलाई मध्यनजर गरी २०० र ५० ग्रामका प्याकेट तयार पार्ने गरिएको छ।
सहकारीकी उपाध्यक्ष प्रविना बिष्टका अनुसार निकट भविष्यमै ‘टर्मरिक पोलिसिङ मेसिन’ खरिद गरेर बेसारको बजारीकरणलाई अझ व्यापक बनाउने लक्ष्य छ। ‘यस्ता अत्याधुनिक मेसिन ल्याउन सरकारले मेसिनरी र औजार खरिदमा १० लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।
गाउँ-गाउँमा उत्पादित बेसार कोशी प्रदेशका मुख्य बजारमा मात्र पुर्याउन सक्दा पनि कृषकले ठूलो राहत पाउने उनको भनाइ छ। र, त्यसबाट बजारमा भारतीय बेसारको एकाधिकार अन्त्य हुने उनले बताइन्। उनका अनुसार भविष्यमा गुणस्तरीय र शुद्ध जिरा, धनियाँ, अकबरे खुर्सानीको धुलोलाई बजारमा पुर्याउने लक्ष्य छ।
बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी राई, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकास सिटौला, आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीलगायत सम्मिलित टोलीले विभिन्न समयमा सहकारीबाट भइरहेको कामको अनुगमन र निरीक्षण गरिरहेका छन्।
