सुनसरी- बराहक्षेत्र नगरपालिकाभित्र सञ्चालनमा रहेका मेडिकल हलहरूले औषधिजस्तो संवेदनशील विषयमा आफूखुशी मनोमानी लापरवाही गरिरहेको खुलासा भएको छ।
बराहक्षेत्र नगर क्षेत्रमा औषधि पसलहरू वैध वा अवैध कसरी सञ्चालनमा छन् भन्ने अनुसन्धान र अनुगमन गर्ने निकाय स्वास्थ्य शाखा मौन देखिएको छ।
स्थानीय सकुल नेपालले गत १३ साउनमा २२ महिनाकी छोरी संयुक्तालाई रुघाखोकी लाग्दा बराहक्षेत्र-१० प्रकासपुर बजारस्थित आर्यन मेडिकलमा पुर्याए। मेडिकल सञ्चालक रामनारायण साहले आफैं जाँचेर दुइटा औषधि (Enclave BlD र TusslvE-D ) दिए र सामान्य रुघाखोकी हो औषधि खाएपछि निको हुन्छ भनेका थिए।
तर, उनले दिएका औषधिले बच्चा निको हुनुको साटो झनझन गाह्रो भयो । छोरी आलसतालस भएपछि सकुलले भोलिपल्ट बराह नगर अस्पताल लगे। त्यहाँ डाक्टर चिरञ्जीवी बस्नेतले जाँच गर्दा मुटुको धड्कन ४० हुनुपर्नेमा ६०-७० पुगिरहेको थियो। बढी डोजको गलत औषधिका कारण बच्चालाई श्वास लिन गाह्रो भई कडा निमोनिया भएको डा. बस्नेतले बताए। र, नगर अस्पतालमा उपचार सम्भव नभएकाले बच्चालाई बालरोग विशेषज्ञकहाँ लैजान सल्लाह दिए।
सकुलले तत्काल विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा छोरीलाई पुर्याए। त्यसपछि मात्र उनको उपचार सम्भव भयो।
स्थानीय मनिष क्षत्री भन्छन् ‘बिरामी भएपछि औषधि उपचार गर्न मेडिकलमा विश्वास र भरोसा गरेर जान्छौं। मेडिकलमा बस्ने व्यक्ति स्वास्थ्यकर्मी या विशेषज्ञ हो कि होइन भने जानकारी हुँदैन। दिएको औषधि विश्वास र भरोसा गरेर खान्छौं। हामीलाई औषधिको बारेमा जानकारी हुँदैन। एउटा रोगको भनी अर्कैको औषधि दिन्छन्। विश्वासले खानैपर्छ।’
मेडिकल हलहरूले औषधिजस्तो संवेदनशील विषयमा मनपरी गरिरहेको आफ्नी छोरीको केसबाट पनि प्रष्ट हुने सकुल बताउँछन्। त्यसबारे स्वास्थ्य शाखा र जननिर्वाचित प्रतिनिधिहरूलाई जानकारी दिँदा पनि मुकदर्शक बनिरहेको उनको आरोप छ।
बराहक्षेत्रभित्र रहेका मेडिकल हलहरूलाई अनुगमन गर्ने तथा जनताले गुणस्तरीय सेवा पाएका छन् कि छैनन् भन्ने हेर्ने दायित्व पाएको निकायमाथि नै नेपालले प्रश्न गरे। ‘मेडिकल हलहरूको अनुगमन र कारवाही कसले गर्ने ?’ उनले भने। नगरपालिकाको स्वास्थ्य शाखाले समय-समयमा विज्ञ टोलीद्वारा छड्के अनुगमन र निरीक्षण गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका ९५ प्रतिशत मेडिकल हलहरू अवैध रूपमा सञ्चालनमा रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार बाँकी ५ प्रतिशत औषधि पसल र मेडिकल हलहरूले मात्र औषधि व्यवस्था विभागबाट अनुमति पत्र लिई सेवा दिइरहेका छन्।
सीएमए पढेकाहरूले मेडिकल हल र औषधि पसल सञ्चालन गर्दै आएका छन्। उनीहरूले आफैं बिरामीको जाँच गर्दै आफैंले औषधि सिफारिस गर्छन्। र, आफ्नै मेडिकल हलबाट औषधि बिक्री गर्छन्।
मेडिकल हलहरूले आफूखुशी लापरवाहीपूर्ण र मनोमानी तरिकाले बिरामीलाई औषधि चलाइदिँदा समस्या भइरहेको नगर अस्पताल डा. बस्नेतले जानकारी दिए।
प्रकासपुर बजारमा रहेको आर्यन मेडिकल हलले प्यान नम्बर ६९६९७६८६४ दर्ता गरी औषधि बिक्री मात्र होइन, एक्स रे मेसिनसमेत राखी हातखुट्टा भाँचिएको प्लास्टर पनि आफैं गरिरहेको पीडित नेपाल बताउँछन्। त्यसरी उपचार गर्ने अनुमति मेडिकल हलहरूले पाएका हुँदैनन्।
मेडिकल सञ्चालक रामनारायण साहले भने आफूले विभागबाट अनुमति पत्र लिई कानूनी प्रक्रिया पूरा गरेरै मेडिकल हल सञ्चालन गरेको बताए। आफूले सीएमए पढेको र साधारण औषधि उपचार गर्ने गरेको उनको भनाइ छ। काठे घरमा एक्स रे मेसिन राख्न सरकारले तोकेको मापदण्ड नपुगेका कारण २ वर्षअघि विराटनगरका मान्छेलाई उक्त मेसिन बिक्री गरेको उनले बताए। तर, सकुल नेपालकी २२ महिनाकी छोरीलाई आफूले गलत औषधि नदिएको साहको दाबी छ।