सुनसरी- बराहक्षेत्र नगरपालिका-७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसका ‘विद्यार्थीहरूले सयपत्रीका १ हजार बिरुवा रोपेर फूल खेती शुरु गरेका छन्।
क्याम्पसको ‘स्वतन्त्र विद्यार्थी युनियन’को अगुवाइमा विद्यार्थीहरूले आसन्न हिन्दूहरूको महान चाड तिहारलाई लक्षित गरी अन्दाजी ३ हजार मखमली तथा सयपत्री फूल बिरुवा रोपी उत्पादन बढाउने उद्देश्यले हातहातमा कुटो कोदालो लिएर जुटेका छन्।
फूल बिक्रीबाट हुने आम्दानीले साँझबिहान छाक टार्नै समस्या रहेका गरिब, दुःखी, असहाय परिवारका छोराछोरीलाई शिक्षामा सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले फूल खेती थालेका हुन्।
गरिब, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पढाइमा टेवा पुर्याउन उनीहरूलाई छात्रवृत्ति दिने उद्देश्यले क्याम्पस हातामा फूलखेती शुरु गरिएको सयपत्री तथा मखमली फूल कार्यक्रमकी संयोजक दीपा मग्रातीले जानकारी दिइन्। २५ साउनभित्र फूलका बिरुवा रोप्ने कार्यक्रम छ। र, उनले सबै विद्यार्थीलाई यसमा सहभागी हुन आग्रह गरेकी छन्।

बराहक्षेत्र नगरवासीले वर्षौंदेखि तिहारको समयमा मखमली र सयपत्री फूलको अभाव खेपिरहेका छन्। उक्त समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यका साथ स्ववियूको अगुवाइमा विद्यार्थीहरूले क्याम्पस हातामा १० कठ्ठा खाली जमिनमा खनजोत गरी फूलका बिरुवा रोप्न थालेका छन्।
क्याम्पसमा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै मखमली तथा सयपत्री उत्पादन गरी बिक्रीबाट खर्च कटाएर १ लाख ७० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको स्ववियू सभापति चित्रमान राईले बताए।
तिहारको समयमा मखमली र सयपत्री फूलको माला बढी प्रयोग र खपत हुन्छ। पहिलोचोटी परीक्षणका लागि फूल रोप्ने र उत्पादन भइसकेपछि चक्रघट्टी, बांगे, नडाहा, चतरालगायत ठाउँका विद्यार्थीहरूले स्टल राखेर बिक्री गर्ने उनले जानकारी दिए।
तिहारमा दिदीबहिनीले दाजुभाइहरूलाई सप्तरंगी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिन्छन्। लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग बढी हुन्छ। घर, कार्यालय, पसल सजाउन पनि सयपत्रीको माला अत्यधिक प्रयोग हुने गर्छ।