लन्डन- वैज्ञानिकहरूले पृथ्वीमा हालसम्मकै ठूलो जनावर भेटिएको दाबी गरेका छन्, जो डाइनोसरभन्दा पनि केही टन ठूलो भएको अनुमान छ।
धर्तिबाट लोप भइसकेको जनावरको जीवाश्म भेटिएको वैज्ञानिकहरूको भनाइ छ। र, त्यो प्राचीन ह्वेल भएको वैज्ञानिकहरूले जनाएका छन्। उक्त प्रजातिको ह्वेल जीवित हुँदा करिब २०० टन अर्थात २ लाख किलो तौलको हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।
उक्त प्राचीन ह्वेलको जीवाश्म पेरुको दक्षिणस्थित मरुभूमिमा उत्खनन गरिएको हो। त्यसलाई ‘पेरुसिटस कोलोसस’ नाम दिइएको छ। उक्त जीवाश्व १ करोड ९० लाख वर्ष पुरानो भएको अनुमान छ।
ब्रसेल्सस्थित रोयल बेल्जियन इन्स्टिच्युट अफ नेचुरल साइन्सेसका डा. रेबेका बनियनका अनुसार उक्त जीवाश्मको एउटै टुक्रो १०० किलोको छ। उक्त प्राचीन ह्वेलका १८ वटा टुक्रा मरुभूमिबाट उत्खनन गरिएको छ। त्यसैले उक्त प्राचीन ह्वेलको वजन ३२० टनसम्म हुन सक्ने अनुमान गरिएको छ।