टीकापुर– टीकापुर-२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो। मस्त निदाएका उनको घर एक्कासी हल्लिन थाल्यो। कालीदेवीले घर किन हल्लियो भनेर टर्च बालेर हेर्दा त हात्तीले घर भत्काउन थालेको थियो।
कालीदेवीले केही सोच्नै सकिनन्। हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो। “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो। हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती। बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्याए थाहा छैन।” कालीदेवीले भनिन्।
हात्तीले पछाडितिर भत्काउन थालेपछि उनको परिवार अगाडिको ढोकाबाट भाग्न सफल भएको थियो। हात्ती अगाडीतिरबाट आएको भए भाग्न नसकिने उनले बताइन्। “हात्ती देखेपछि आँखा देखिनँ, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ, यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ। हामी कराउँदै भागेका थियौँ। खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ।” उनले भनिन्।
कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजगारीका लागि भारतमा छन्। परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए। राजीपुरका स्थानीयबासी हात्तीको त्रासले रातको समयमा सुत्न मुश्किल भएको बताउँछन्। यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको उनीहरूले बताए।
पटकपटक नोक्सानी पुर्याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ। गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय हरी सुनारले बताए। “अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ, वर्षौंदेखि यही बसिरहेका हामी कहाँ जानु? त्रासमा पनि कसरी बस्ने होला?” उनले भने।
हात्तीले गरेको क्षति अनुगमन गरेका वडाध्यक्ष दीपक चौधरीले क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने बताए।
“हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ, जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन्। क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ।” उनले भने।