मस्को- वैज्ञानिकहरूको एक समूहले रुसको साइबेरियामा ४६ हजार वर्ष पुराना कीरालाई जीवित बनाएका छन्।
साइबेरियास्थित सधैं बरफ जमिरहने परमाफ्रस्ट इलाकामा ४६ हजार वर्षअघिदेखि निश्क्रिय कीरालाई पुनर्जीवित बनाइएको हो। वैज्ञानिकहरूका अनुसार जतिबेला यी कीराहरू जीवित थिए, पृथ्वीमा ठूल-ठूला दाँतवाला बाघ विचरण गर्थे। त्यतिबेलाको संसार नै अहिलेभन्दा बेग्लै थियो।
त्यो समयमा उत्तरी अमेरिका, युरो र एसियाको अधिकांश हिस्सा हिउँले ढाकिएका थिए। जर्मनीको ड्रेसडेनस्थित वैज्ञानिकहरूको टिमका अनुसार लामो समयअघि विलुप्त भइसकेका ती कीरालाई पुनर्जीवित गर्न सफलता हात लागेको हो।
ती कीरा क्रिप्टो बायोसिस नामक स्थितिमा फसेका थिए। त्यस्तो स्थितिमा जीवले खराब परिस्थितिमा आफ्नो मेटाबोलिजम बन्द गर्न सक्छन्। ती कीरालाई पानी र उनीहरूका खानेकुरा दिएपछि करिब एक महिनासम्म जीवित भएका थिए। र, तिनले १०० नयाँ कीरालाई जन्म दिए।
शोधकर्ताहरूको समूहले माटोका अध्ययन गरेर ती कीराको उमेर पत्ता लगाएका थिए। ती कीरा दबिएको माटो ४६ हजार वर्ष पुरानो भएको पत्ता लागेको छ।