सुनसरी- बराहक्षेत्र नगरपालिका-७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको ‘स्वतन्त्र विद्यार्थी युनियन’का विद्यार्थीहरूले फूल रोप्ने लहर चलाएका छन्।
आसन्न हिन्दूहरूको महान चाड तिहारलाई लक्षित गरी मखमली तथा सयपत्री फूल उत्पादन बढाउने उद्देश्यले यो लहर चलाइएको हो।
बराहक्षेत्र नगरवासीले वर्षौंदेखि तिहारको समयमा मखमली र सयपत्री फूलको अभाव खेपिरहेका छन्। उक्त समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यका साथ ‘स्वतन्त्र विद्यार्थी युनियन’को अगुवाइमा विद्यार्थीहरूले क्याम्पस हातास्थित १० कठ्ठा खाली जमिनमा खनजोत गरी फूल रोप्न थालेका छन्।

फूल बिक्रीबाट हुने आम्दानीले साँझबिहान छाक टार्नै समस्या रहेका गरिब, दुःखी परिवारका छोराछोरी शिक्षामा सहयोग पु¥याउने उद्देश्य विद्यार्थीहरूको छ। गरिब, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पढाइमा टेवा पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति दिने लक्ष्य रहेको सयपत्री तथा मखमली फूल कार्यक्रमकी संयोजक तथा क्याम्पसकी विद्यार्थी दीपा मगराति जानकारी दिइन्।
क्याम्पसमा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै मखमली तथा सयपत्री उत्पादन गरी बिक्रीबाट १ लाख ७० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको स्ववियू सभापति चित्रमान राईले बताए। तिहारको समयमा मखमली र सयपत्री फूलको माला बढी प्रयोग र खपत हुने हुँदा पहिलोचोटी परीक्षणका लागि फूल रोप्ने कामको थालनी गरिएको र राम्रो नतिजा आएमा निरन्तरता दिइने राईले बताए।
तिहारमा दिदीबहिनीले दाजुभाइहरूलाई सप्तरंगी टीकासँगै मखमली, सयपत्री र गोदावरीको फूलको माला लगाइदिन्छन्। तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग बढी मात्रामा हुन्छ। तिहारको समयमा घर, कार्यालय, पसल सजाउन पनि सयपत्रीको फूलको माला अत्यधिक प्रयोग गरिन्छ।

यसअघि पनि सोही क्याम्पसमा विद्यार्थीहरूले आँपको अचार १ किलोका ८८ वटा डिब्बा बनाई ७० वटा ४ सय रुपैयाँका दरले बिक्री गरिसकेको स्ववियू सचिव सुजन बस्नेत जानकारी दिए।
शैक्षिक क्षेत्रको स्तरोन्नती, विकास निर्माणलगायतमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा क्याम्पस र विद्यार्थीहरूलाई साथ सहयोग र हौसला प्रदान गर्ने सबैलाई सप्तकोशी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुशील कोइरालाले धन्यवाद व्यक्त गरे।