सुनसरी- बराहक्षेत्र नगरपालिकामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्।
बराह नगर अस्पतालका अनुसार मध्य वर्षायाममा डेंगुको प्रकोप बढेको हो। साउनका ८ दिनमा १३० जनाको परीक्षण गर्दा ३० जनामा डेंगु पजिटिभ देखिएको अस्पतालका चिकित्सक डा. चिरञ्जीवि बस्नेतले जानकारी दिए।
उनका अनुसार तीमध्ये १५ जना अस्पतालमा आएका थिए। उनीहरू मध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ। ७ जना पूर्ण निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। भर्ना भएका एक बिरामीलाई स्वास्थ्यमा समस्या आएपछि धरानस्थित बीपी कोइरालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

अन्य पजिटिभ लक्षण देखिएका बिरामीहरू आ-आफ्नो घरमै उपचार गराइरहेका छन्। वर्षायाम अझै बाँकी रहेकाले डेंगुका बिरामी बढ्न सक्ने डा. बस्नेतले बताए।
यस्तै, चतरा अस्पतालमा आएका १५० जनाको डेंगु परीक्षणमा ५० जनामा पजिटिभ देखिएको छ। अस्पतालका स्वास्थ्यकर्मी तथा प्रवक्ता यम भण्डारीका अनुसार हाल ३ जना बिरामी उपचाररत छन्।
स्वास्थ्य शाखा बराहक्षेत्रले डेंगुबाट बच्न वडा १ देखि ११ सम्ममा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाएको छ। त्यसका लागि कीटनाशक औषधि छिट्ने र न्यूनीकरणको काम गरिरहेको छ।
डेंगुबाट कसरी बच्ने ?
वर्षाको समयमा पानी परेर खाल्डाखुल्डी, टायर, नाला आदिमा पानी जम्मा भई एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कन्छन् र तिनै लार्भा बयस्क भएर मान्छेलाई टोकेपछि डेंगु लाग्छ।

चतरा अस्पताल
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन राति झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरका झ्याल-ढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन सर्वसाधारणमा अपील गरेको छ।