वासिङ्टन (बीबीसी)- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पाँच वर्षको यात्रापछि जुनो मिसनको दोस्रो अन्तरिक्ष यानलाई सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको कक्षमा सफलतापूर्वक प्रवेश गरायो। यो यानले सन् २०२५ सम्म बृहस्पतिमा विचरण गर्नेछ।
अमेरिका क्यालिफोर्नियाको पासाडेनास्थित मिसन कन्ट्रोल रुममा त्यसबारे सन्देश प्रसारित हुँदा वैज्ञानिकहरूको खुशीको सीमा थिएन। जुनो प्रवेश गरेको कक्ष र कन्ट्रोल रुमको दूरी करिब ८० करोड किलोमिटर थियो। ‘रोजर जुनो, जुपिटरमा तिमीलाई स्वागत छ,’ कन्ट्रोल रुममा वैज्ञानिकहरूले घोषणा गरेका थिए।
उक्त अन्तरिक्ष यानले बृहस्पतिको निर्माणसम्बन्धी रहस्य खोतल्ने प्रयास गरिरहेको छ। आफ्नो मिसन पूरा भएपछि जुनो बृहस्पतिको वातावरणमा प्रवेश गरी आफैंलाई समाप्त पार्नेछ। करिब एक अर्ब डलरको जुनो मिसन सन् २०११ मा शुरु भएको हो।
पृथ्वीबाट विस्फोट गराएर अन्तरिक्षमा प्रवेश गराइएको जुनो मिसन सफलतापूर्वक बृहस्पतिको गुरुत्त्वाकर्षणमा तानिएको थियो। अन्तरिक्ष यानबाट प्रसारित रेडियो सन्देशअनुसार वैज्ञानिकहरूको योजना मुताबिक नै सबै काम भएको छ।
वैज्ञानिकहरूले उक्त यानलाई बृहस्पतिको गहिरो खोजीमा लगाएका छन्, जसबाट रहस्यका गुत्थीहरू सुल्झिने अपेक्षा उनीहरूको छ। साढे चार अर्ब वर्षअघि सौर्यमण्डलमा कसरी त्यति विशाल संरचना तयार भएको थियो भन्ने जान्न वैज्ञानिकहरू आतुर छन्। खासगरी, बृहस्पतिको संरचना र ‘केमेस्ट्री’बारे स्पष्ट जानकारी हासिल गर्ने उनीहरूको चाहना छ। अहिलेसम्म कुनै अन्तरिक्ष यान विशाल ग्रहको यति नजिकसम्म पुगेका थिएनन्। जसका कारण बृहस्पतिको भित्री जानकारी हालसम्म रहस्यकै गर्भमा छ। किनभने, यसको बलशाली विकिरण क्षेत्रले असुरक्षित विद्युतीय सामग्री सहजै नष्ट गरिदिन्छ। जुनोले करोडौं एक्स रे बराबर काम गर्न सक्छ। यद्यपि, उक्त मिसनमा टिटानियमको बलियो ढाल प्रयोग गरिएको छ, जसले ट्यांकको जस्तो काम गर्न सक्छ। कुनै वस्तुको सहयोगबिनै उक्त रकेट बृहस्पतिको कक्षमा घुस्न सफल भएको थियो।
‘सम्भावनाको संग्रह’
विकिरणको जोखिममुक्त नहुँदै अन्तरिक्ष यानले आफ्नो उपकरणहरूमा चेतना भर्न सक्ने क्षमता देखाइसकेको छ, जसबाट बृहस्पतिको घना बादल छिचोल्न सफलता मिल्ने अपेक्षा छ। कक्षमा प्रवेश गर्ने जुनोको अन्तिम प्रयास ५३ दिनमा पूरा भएको थियो। बृहस्पतिको विशाल अण्डाकार कक्षमा घुम्न थालेको भूउपग्रहको दृष्य रेकर्ड भएको थियो।
रकेट इन्जिनलाई दोस्रोपटक विस्फोट गराएर १४ दिनको प्रयासमा कक्ष नजिक पुर्याइएको थियो। त्यहींबाट शुरु भएको हो, विज्ञानको चमत्कार। बाक्लो बादलको सतहभन्दा केही हजार किलोमिटर मात्र माथि अन्तरिक्ष यान घुम्न थालेको थियो।
अति नजिकबाट गुज्रिँदै गर्दा जुनोले आठवटा रिमोट सेन्सिङ उपकरण प्रयोग गरिरहेको छ। साथमा छन् क्यामेरा। ती उपकरणको माध्यमबाट ग्रहमा थुप्रिएको ग्यासको विभिन्न तहको तुलना मात्र नभई तिनीहरूको बनावट, तापक्रम, गति र अन्य गुणहरूबारे जानकारी हासिल हुने वैज्ञानिकहरूको अपेक्षा छ।
बृहस्पतिमा अक्सिजनको प्रचुरता मापन गर्नु जुनोको मुख्य मिसन हो। जुन, त्यहाँ रहेको पानीबाट पत्ता लाग्ने छ। ‘बृहस्पतिमा कति पानी छ भन्ने कुराले हामीलाई सौर्य मण्डलमा उक्त ग्रह कहाँ जन्मियो भन्ने पर्याप्त जानकारी प्राप्त हुने छ,’ टोली सदस्य क्यान्डी ह्यान्सनले भने, ‘अहिले बृहस्पति जहाँ छ, त्यहीं जन्मेको होइन भन्ने हाम्रो विश्वास छ। त्यहाँबाट निकै टाढा र नजिक कतै जन्मिएको हुन सक्ने अनुमान छ। उक्त विषय पत्ता लाग्दा सौर्यमण्डलको उत्पत्तिबारेका नयाँ तथ्य उजागर हुन सक्छन्।’ उनको भनाइमा यसबाट सम्भावनाका संग्रहहरू फेला पर्ने विश्वास गरिएको छ।
उक्त मिसनले केही पुराना विवादहरू पनि समाधान हुने आशा छ। ग्रहहरूले कहाँबाट ठोस पदार्थ प्राप्त गरे र ग्यासहरू कहाँ गए भन्ने विषयमा वैज्ञानिकहरू बीच लामो समयदेखि बहस चलिरहेको छ। जुनोले बृहस्पतिमा रहेको मेटालिक हाइड्रोजनको गहिरो तरल भुमरीको पनि अध्ययन गर्ने छ। उक्त सिद्धान्तले बृहस्पतिको पर्याप्त चुम्बकीय क्षेत्र र दृष्य प्रकासबारे जानकारी दिने छ।
स्कोट बोल्टोनको भनाइमा विशाल आँधिबेहरी, जसलाई वैज्ञानिकहरूले ग्रेट रेड स्पट नामाकरण गरेका छन्, बारे यथार्थ जानकारी प्राप्त गर्नु महत्त्वपूर्ण हुने छ। ‘म ग्रेट रेड स्पटलाई धेरै माया गर्छु। हामीले त्यसलाई गतिशील रूपमा देखिरहेका छौं। बाल्यकालमा जतिबेला यसलाई देखेर म आश्चर्यचकित भएको थिएँ, अहिले विस्तारै खुम्चिँदै गएको छ,’ उनले भने, ‘यो सयौं वर्षदेखि यस्तै छ। त्यसको मतलव यो साँच्चिकै गहिरो छ।’
उनका अनुसार ग्रेट रेड स्पट पृथ्वीमा चल्ने आँधिबेहरीजस्तो छ। तर, ठ्याक्कै त्यस्तै गरी काम गरेको पाइँदैन। किनभने, पृथ्वीको आँधिबेहरीलाई समुद्रको सतह आवश्यक हुन्छ। र, जमिनमा खस्दा तरल पदार्थबाट युक्त रहन्छ। बृहस्पतिमा भने सबै ग्यास मात्र हो।
नासाले जुनोलाई फेब्रुअरी २०१८ मा जुनोलाई नष्ट गर्ने बताएको छ। यसअघिका अन्तरिक्ष अभियानको तुलनामा यसले जमिनको सतहकै खोजविन गर्नेछ, जसबाट बृहस्पतिको वातावरणबारे घनिभूत जानकारी पाइने अपेक्षा छ।