Advertisement
ढाका- यात्री बोकेर बंगलादेशको सुगन्धा नदी पार गर्दै गरेको डुंगामा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
यो घटना बंगलादेशको झालकोटी जिल्लामा भएको हो । उक्त घटना पुष्टि गर्दै सरकारी अधिकारीहरूले मृतक संख्या बढ्न सक्ने बताएका छन् ।
‘एमभी अभियान’ नामक उक्त डुंगा बारगुना भन्ने ठाउँ पुग्न बिहीबार राति ढाकाबाट हिँडेको थियो । झालकोटी जिल्लास्थित सुगन्धा नदीमा पुगेपछि डुंगाको एउटा इन्जिनमा आगो लागेको थियो ।
बिहान साढे तीन बजे झालकोटीका स्थानीय सञ्चार माध्यमले डुंगामा आगो लागेको जानकारी पाएका थिए । कतिपय यात्री ज्यान बचाउन नदीमा हाम फालेका थिए । डुंगामा क्षमताभन्दा बढी यात्री रहेको अनुमान छ ।