सुनसरी- चतरास्थित सप्तकोशी नदीको पुलले कोभिड-१९ महामारीपछि लकडाउन खुकुलो भएको समयमा ज्यादा चर्चा पायो। लकडाउनले उकुसमुकुस भएर घरमै थन्किन विवश नागरिकको ताँती नै लाग्यो, खुकुलो हुनासाथ। खासगरी, त्यतिबेलै हो, यसले ‘भाइरल पुल’को उपमा पाएको पनि।
हुन त, त्यसअघि पनि यो पुलमा पुगेर सप्तकोशी नदीको दृश्यमा रमाउने र सेल्फी खिच्नेहरूको कमी थिएन। तर, लकडाउनका कारण उत्पन्न मानसिक तनाव शान्त बनाउने राम्रो बहाना दियो यो पुलले। किनकि, पट्यारलाग्दो लकडाउनले घुमफिरमा निस्किन मानिसलाई प्रेरणा दियो।
त्यसयता यही पुललाई लक्षित गरेर पर्यटकीय गतिविधि बढ्दो छ। त्यसै पनि यो पुलले जोड्ने धरान-हेटौंडा सडकलाई पूर्वपश्चिम राजमार्गको विकल्प मानिएको छ। र, पूर्वपश्चिम राजमार्ग जोड्ने कोशी ब्यारेजको पुलको विकल्प पनि यही मात्र हो।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ र उदयपुरको बेलका नगरपालिका-८ बीचमा पर्ने कोशी पुलमा घुम्न र मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। खासगरी, चाडबाड, सार्वजनिक विदा, गुड फ्राइडे र शनिबारको साप्ताहिक विदामा करिब ७ हजारजनाको भीड लाग्ने स्थानीय रंग महल होटलका सञ्चालक मनिष राई बताउँछन्।
सप्तकोशी नदीको आकर्षणको केन्द्र बनेको सुन्दर पुलमा तस्बिर खिच्न र टिकटक बनाउन तथा पानी जहाज चढेर जलयात्रा गर्न, वनभोजमा रमाउन, मनोरञ्जन र घुमफिरका लागि आन्तरिक पर्यटकको भीड लाग्छ। त्यसरी आउने आगन्तुकहरू कोशीको ताजा माछालगायत अन्य स्वादिष्ट परिकारको स्वाद लिन पछि पर्दैनन्। यहाँ पाइने परिकारको स्वाद लिन उनीहरू सप्तकोशी नदीछेउमा खुलेका होटेल, रेस्टुराँ र रिसोर्टमा पुग्छन्।
पुल जोड्ने दुवैतर्फका सडक कालोपत्रे भइसकेका छन्। त्यसैले सुनसरी र उदयपुर मात्र होइन, झापा, मोरङ, सप्तरी, सिरहादेखिका आन्तरिक पर्यटकको भीड लाग्छ, यहाँ। यस क्षेत्र भएर आउजाउ गर्ने यात्रीहरू पनि केहीबेर गाडी रोकिएको मौकामा पुलमा सेल्फी खिच्न र टिकटक बनाउन व्यस्त भइहाल्छन्।
त्यसैले यात्रीहरूका लागि सप्तकोशी पुलमा एक सुरम्य विश्रामस्थल पनि बनेको छ। धरान, इटहरी, विराटनगर, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, इलाम र ताप्लेजुङसम्मका यात्री यही मार्ग भएर काठमाडौंलगायत गन्तव्यमा आउजाउ गर्छन्।
मान्छेको चहलपहल बढेसँगै कोशी पुलमा आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण स्थल बन्दै गएको वन्डरहिल होटेलका सञ्चालक राज वान्तवा बताउँछन्। त्यसका कारण होटेल व्यवसाय दिनानुदिन फस्टाउँदै गएको उनको भनाइ छ।
वराहक्षेत्र-चतराघाट र बेलका-८ मा साधारणदेखि स्विमिङ पुलको सुविधासमेत रहेका होटेल र रिसोर्ट धमाधम खुलिरहेका छन्। तीमध्ये केही होटेल हुन्, ग्यालेक्सी होटेल, वन्डर हिल, चुला रिसोर्ट, बार्दली, कोशी प्यालेस, वेलका बिच, पलेंटी भान्छा, रंग महल, सोभा होटेल, नाना भेना, खालिङ र एलाखम।
पुलमा यसअघि लगाइएको रङ रोगन उडेर कुरुप भएपछि स्थानीय होटल व्यवसायीहरूको पुनः पुललाई रंगिन बनाइएको छ।
स्थानीय प्रदीप कार्की भन्छन्, ‘पुलमा सडक बत्ति छ तर मर्मत सम्भारमा सडक विभागको ध्यान गएको छैन। रात्रि समयमा बत्ती नबल्दा मौकाको फाइदा उठाउँदै कसैले कुनै ठूलो दुर्घटना गराएमा त्यसको जिम्मा कसले लिने ? क्षतिपूर्ति कसले बेहोर्ने हो?’ केन्द्र, प्रदेश र स्थानीय सरकारले यसमा ध्यान पुर्याउनुपर्ने उनी बताउँछन्।
स्थानीय होटेल व्यवसायीहरूले पुलको सडक बत्ती बाल्नेबारेमा वराहक्षेत्र र वेलका नगर प्रमुख रमेश कार्की, अशोक कार्कीलगायत सरोकारवाला निकायहरूलाई पटक-पटक जानकारी गराउँदा पनि हालसम्म सुनुवाइ नभएको ग्यालेक्सी होटेलका सञ्चालक ईश्वर गुरुङ बताउँछन्। उनका अनुसार कोशी पुलमा क्षेत्रमा नेपाल टेलिकमको सिममा नेटवर्क नआउने समस्या छ। त्यसतर्फ टेलिकमको ध्यान जानुपर्ने उनको भनाइ छ।
पुलमा बत्ति नबलेको विषयमा सामाजिक सञ्जालमा पटक-पटक आवाज उठेपछि वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीलगायत प्राविधिकसहितको टोलीले असार ०७९ मा स्थलगत अवलोकन गर्दै सडक विभागलाई पत्राचार गरेर ध्यानाकर्षण गराउने बताएका थिए। तर, अझै त्यसको व्यवस्थापन भएको छैन।
पुलमा बत्ती नबल्दा रातको समयमा पर्यटक र यात्रीलाई सुरक्षा दिन र ड्युटी गर्न समस्या हुने गरेको सुरक्षामा तैनाथ रहने प्रहरीहरूको भनाइ छ।
पकली, बकलौरी, कालाबन्जर, नडहा, झण्डे चोक, भलायोटार, चतराघाट, सप्तकोशी पुल हुँदै सोमबारे, रामपुर, सुपाडे, हात्तीसुँडे, गाईघाट, भिमान, सिन्धुली खुर्कोट, काठमाडौ सम्म हिउँदको समयमा छोटो दूरीमा यातायातबाट आउजाउ गर्न यो वैकल्पिक राजमार्ग हो। एसियाली विकास बैंकको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानीमा कालिका कन्स्ट्रक्सन प्रालिले कोशी पुलको निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो। तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले १८ साय ०७२ मा यसको उदघाटन गरेका थिए।
स्थानीय व्यवसायी रोशन श्रेष्ठले साथीहरू चतरा, बयरवन आउँदा कफी पिउन कोशी किनार पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै खार खोलास्थित झण्डे चोकमा केही समयअघि सरोवर होटेल एन्ड लज सञ्चालनमा ल्याएका छन्। उनको होटेलमा एसीसहितको सुविधा जडान गरिएको छ।