काठमाडौं- बुद्ध जन्मस्थल लुम्बिनीमा तीन वर्षयता वृक्षरोपण अभियान चलाइयो। त्यस क्रममा कुल ५४ हजार ६९९ बिरुवा रोपियो। तर, तिनको संरक्षणमा लुम्बिनी विकास कोषले चासो दिएन। र, लुम्बिनीलाई हराभरा बनाउने योजना बालुवामा पानी खन्याएझैं भएको छ।
तीमध्ये २१ हजार बिरुवा कोषले ठेक्का दिएको दया जेभी नामक ठेकेदार कम्पनीले रोपेको थियो। २५ हजार बिरुवा रोप्न ठेक्का लिएको यो कम्पनीले २१ हजार मात्र रोपेको थियो। सोही अभियानअन्तर्गत विभिन्न सामाजिक संघसंस्थाले ४ हजार ६९९ बिरुवा रोपेका थिए।
यस्तै, भैरहवा-लुम्बिनी-तौलिहवा सडक निर्माणकर्ता गावर कन्ट्रक्सनले पनि निःशुल्क २९ हजार बिरुवा रोपेको थियो।
लुम्बिनी हराभरा र फलफूलको बगैंचा रहेको बौद्ध धर्मग्रन्थहरूमा पढ्न पाइन्छ। बौद्ध ग्रन्थमा उल्लेख भएझैं लुम्बिनीलाई फलफूलको सुन्दर बगैंचा बनाउनेगरी थालिएको सरकारी कदम भने बालुवामा पानीझैं भएको छ।
विकास कोषले आर्थिक वर्ष ०७७-७८ मा दया जेभी नामक कम्पनीलाई २५ हजार फलफूलका बिरुवा लगाउन ठेक्का दियो। गौतमबुद्ध फलफूल बाटिका नाम दिएर ती बिरुवा रोपिए। यो ठेक्काभन्दा बाहिर विभिन्न संघसंस्थाले ४ हजार ६९९ वटा फलफूलका बिरुवा लगाए।
आँप, लिची, जामुन, अनार, अम्बा, कागती, कटहर, बयरका बिरुवा रोपिएको कोषको तथ्यांकमा उल्लेख छ। देशका उच्च पदस्थ व्यक्तिहरू पनि त्यतिबेलाको वृक्षरोपणमा सरिक भएका थिए।
जब कि, गुरुयोजनामा फलफूलकै बिरुवा लगाउने भन्ने छैन। गुरुयोजनाले ६० प्रतिशत क्षेत्रमा जंगल रहने परिकल्पना गरेको छ।
विकास कोषले आव ०७७-७८ मा २५ हजार फलफूलका बिरुवा लगाउने योजना बनायो, २ करोड ६४ लाख रुपैयाँ खर्च गर्यो। बिरुवा लगाउन दया निर्माण सेवालाई जिम्मा दियो। कम्पनीले २१ हजार फलफूलका बिरुवा रोपेको कोषको वनस्पति शाखामा अभिलेख छ।
सोही अभियानमा सहभागी हुँदै गावर कन्ट्रक्सनले पनि निःशुल्क २९ हजार बिरुवा रोप्यो। विकास कोषले प्रधानमन्त्री प्लट र मुख्यमन्त्री प्लट छुट्याएर फलफूलका बिरुवा रोपेको थियो। कोषमा विदेशीहरूले पनि वृक्षरोपण गरेका छन्। विदेशीका लागि भने बिरुवाको रेखदेख, संरक्षण र मलजल गर्ने भन्दै २५० अमेरिकी डलर असुलेर मात्र रोप्ने अनुमति दिइएको थियो।
विकास कोषमा चार तहको सुरक्षा व्यवस्था छ, तर सुरक्षा व्यवस्था चुस्त दुरुस्त नहुँदा मानिसले बिरुवा र तार जाली चोर्नेदेखि छाडा चौपायाले फलफूलका बिरुवा खाइदिएर वृक्षरोपण गरिएको ठाउँ उजाड बनिसकेको छ। आन्तरिक सुरक्षाकर्मी ७३ र माली ६२ जना छन्। तर, रोपिएका बिरुवा जोगिएका छैनन्।
विकास कोषले माटोको गुणस्तर जाँच नगरी हचुवाको भरमा फलफूलका बिरुवा रोप्दा नसप्रेको र मर्ने गरेको स्थानीय मेघनाथ आचार्य बताउँछन्। सबै क्षेत्रमा सबै प्रकारका बिरुवा सुहाउँदो माटो नहुने उनको ठम्याइ छ। ‘जे काम गर्दा पनि पूर्व अध्ययनअनुसार गर्ने हो भने फेल खाइँदैन। तर, विश्वका मानिसले चिन्ने र मान्ने ठाउँ लुम्बिनीमा विकास कोषका कर्मचारीले आफूअनुकूल र आर्थिक लाभ हुने काम मात्रै गर्ने गरेका छन्,’ उनले भने, ‘कसैले त्यसविरुद्ध आवाज उठायो भने विकास कोषका कर्मचारीले कुनै पनि कार्यक्रममा सहभागी गराउँदैनन्।’
लुम्बिनीको संरक्षण गर्ने काम स्थानीय बासिन्दाको भए पनि अपनत्व बोध हुने कार्य लुम्बिनी विकास कोषले नगरेको स्थानीय विजय सिंह बताउँछन्। स्थानीय बासिन्दाको जीवीकोपार्जनमा कोषले आफ्नो दायित्व नठानेको उनी बताउँछन्।
विश्वकै शान्ति क्षेत्र अनि गौतमबुद्ध जन्मेको ठाउँमा विकास कोषले स्थानीयवासीलाई उपेक्षा गर्दै आएको स्थानीय विष्णु बस्नेत बताउँछन्। भन्छन्, ‘विकास कोषले स्थानीय बासिन्दा लक्षित विद्यालय र अस्पताल खोलेको भए भलो हुन्थ्यो। कोषलाई जग्गा दिएका स्थानीयवासीको स्तरवृद्धि गर्नेमा विकास कोष चुकेको छ।’
विकास कोषले हरेक वर्ष लाखौं रुपैयाँ खर्चेर फलफूललगायत बिरुवा रोपे पनि संरक्षण अभावमा हरियाली बन्न नसकेको स्थानीय कृष्ण गुरुङ बताउँछन्। विकास कोषमा तलब भत्ता खाने तर काम लगाउन नसक्ने प्रवृत्तिले लाखौं खर्चेर रोपिएका बिरुवा घाँसभित्र हराउने, सुक्ने र छाडा चौपाया खाने गरेको गुरुङ बताउँछन्।
विकास कोषको ४ र ५ नम्बर प्लटमा आगो लागेर बिरुवाहरू जले। आगजनीबाट हजारौं बिरुवा जलेको कोषका कर्मचारी बताउँछन्। यस्तै, ठेक्कामार्फत र विभिन्न संघसंस्थाले रोपेका बिरुवा फस्टाएनन्। विकास कोषले नर्सरी बनाउन ठेक्का दिएको ठेकेदारले रोपेका बिरुवाको मात्र संरक्षण भएको छ। र, ती सबै फस्टाएका छन्। त्यो क्षेत्रमा कोषका कर्मचारीको रेखदेख छैन। तर, त्यो क्षेत्रमा छाडा चौपाया पस्दैनन्, घाँसे झाडीले पनि ढाकेको छैन।
विकास कोषका वनस्पति शाखा प्रमुख कमलेशप्रसाद बर्माले सुरक्षाकर्मी र माली भए पनि बिरुवाको संरक्षण हुन नसकेको स्वीकारे। स्थानीय बासिन्दाले घाँस दाउराका लागि तारजाली हटाइदिँदा बिरुवा संरक्षणमा समस्या आएको उनको भनाइ छ। कोषका कर्मचारी राजनीतिक आस्थाका आधारमा नियुक्त हुने भएकाले काममा लगाउनै कठिन हुने गरेको उनी बताउँछन्।
तत्कालीन राजा वीरेन्द्रले पनि लुम्बिनीमा आँपका बिरुवा रोपेका थिए। तर, त्यसको नामोनिशान भेटिँदैन अहिले। आफूले पनि त्यसबारे किताबमा पढेको तर कहाँ छ भन्ने थाहा नभएको बर्मा बताउँछन्। सामाजिक संघसंस्था, उच्चपदस्थ व्यक्ति र विदेशीले बिरुवा रोपे पनि संरक्षण गर्न नसकिएको उनको भनाइ छ।
गुरुयोजना नै अलपत्र
इतिहासमा कुनै परियोजना आधा शताब्दीसम्म निर्माणकै क्रममा भएको विरलै उदाहरणमा पर्छ, लुम्बिनी विकास गुरुयोजना। लुम्बिनी त्यो स्थान हो, जहाँ शान्तिका अग्रदूत शाक्यमुनि बुद्ध जन्मेको प्रमाण फेला परेको थियो।
जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए। ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो। त्यो गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ। गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दाबी छ। तर, पदाधिकारीको दाबीलाई पुरातत्वविदहरू स्वीकार्दैनन्।
लुम्बिनी विश्वको शान्ति केन्द्रको रूपमा परिचित छ। तर, गुरुयोजना नै अलपत्र हुँदा विकासले फड्को मार्न सकेको छैन। लुम्बिनीको नजिकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ। बुद्ध धर्मालम्बीहरूको मुख्य गन्तव्य लुम्बिनीको गुरुयोजना ४५ वर्षसम्म नसकिनु नै एक दुर्भाग्य बनेको छ। र, विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विश्वभरका बौद्ध धर्मावलम्बीलाई लुम्बिनीमा भित्र्याउन सफलता हात लागेको छैन।