न्युयोर्क- टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई टाइम म्यागेजिनले ‘पर्सन अफ द इयर, २०२१’ घोषणा गरेको छ ।
विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारको सबैभन्दा महँगो कम्पनी बनेकै वर्ष एलन मस्कले उक्त उपाधि हात पारेका छन् । यही वर्ष उनको सम्पत्तिमा जबर्जस्त वृद्धि देखिएको छ । र, उनी संसारकै धनी व्यक्ति बनेका छन् ।
त्यसको घोषणा गर्दै टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भने, ‘समाजमा सबैभन्दा साहसी तथा ठूलो परिवर्तनका लागि, टेक टाइटन्सको युगको सम्भावनाहरूलाई मूर्त दिएकाले र समाजमा व्याप्त संकटको समाधान निकालेकाले एलन मस्कलाई ‘टाइम पर्सन अफ द इयर, २०२१’ छनोट गरेका छौँ ।’
एलन मस्क स्पेस–एक्सको संस्थापक सीईओ हुन् । त्यसबाहेक उनी ब्रेन–चिन स्टार्टअप न्युरालिंक र इन्फ्रास्ट्रक्चर फर्म ‘द बोरिङ कम्पनी’को पनि नेतृत्व गर्छन् । गत वर्ष ‘टाइम पर्सन अफ द इयर’ अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसलाई घोषणा गरिएको थियो ।