सुनसरी- बराहक्षेत्र वडा नम्बर १ स्थित सूर्यकुण्ड आधारभूत विद्यालयका विद्यार्थीहरूले स्थानीय बाटोघाटो मर्मत सम्भार र सरसफाइ गरेका छन्।
हिलोका कारण स्थानीय बासिन्दा, विद्यार्थी र यातायात साधनलाई आउजाउ गर्न समस्या भएपछि विद्यार्थीहरूले उक्त बाटोमा माटो हाली मर्मत सम्भार गरेका हुन्।
विद्यालयका शिक्षक गणेश निरौलाका अनुसार यसअघि विद्यालयमा बाल क्लब थिएन। उनी विद्यालयमा आएपछि क्लबको संरक्षक बने र कक्षा ८ मा अध्ययनरत विद्यार्थी सौजन राईको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन गराए। क्लब गठन भएपछि विद्यार्थीहरूलाई सामाजिक कार्यमा अग्रसर हुनुपर्छ भन्ने उद्देश्यले बाटो मर्मत र सरसफाइ गरिएको उनले बताए।
उक्त बाटो मर्मत गर्न स्थानीय प्रताप राईले ३ टिप ढुंगा, माटो र यातायातका साधन निःशुल्क उपलब्ध गराई सहयोग गरेका थिए।
यसअघि उक्त विद्यालयलाई बराहक्षेत्र १ का वडाध्यक्ष किसान थापा मगरले कम्प्युटर २, प्रोजेक्टर १, प्रिन्टर (फोटोकपी, स्क्यानर) १ र लेमिनेसन मेसिन १ थान हस्तान्तरण गरेका थिए।
विद्यालयमा कम्प्युटर र प्रोजेक्टर भए पनि नेटको सुविधा उपलब्ध नहुँदा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिइँदै आएको छ। विद्यालय नजिक चियाबारी धापसम्म अर्जुन कुलुङले सञ्चालनमा ल्याएको होमस्टे र स्ट्रबेरी फारमसम्म नेट उपलब्ध छ।
प्रधानाध्यापक दिनेश कार्कीले भने विद्यालयसम्म इन्टरनेट सुविधा उपलब्ध नहुँदा वडा कार्यालयबाट प्राप्त सामग्रीहरूबाट विद्यार्थीहरूमा प्रयोगात्मक र व्यावहारिक ज्ञान सीप वृद्धि गराउन नसकिएको बताए।
वडाध्यक्ष मगरले इन्टरनेट ल्याउने विषयमा पहल भइरहेको बताए। सो विद्यालयमा जम्मा ८० जना विद्यार्थी, शिक्षकहरू स्थायी ३, अस्थायी १, अनुदान १, बाल विकास २ र राहत कोटाका १ जना छन्। यस्तै, सहयोगी कर्मचारी १ जना छन्।