भक्तपुर– भक्तपुरको सूर्यविनायक-१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ।
आइतबार स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो।
भक्तिपथ फाउन्डेसन संस्था नेपाल र सूर्यविनायक नगरपालिका बीचको सहकार्यमा बन्ने उक्त धामले धार्मिक पर्यटकको आगमन बढाउने पालिकाको विश्वास छ।

कार्यक्रममा फाउन्डेसनका संरक्षक आचार्य श्री शितल कृष्णजी महाराजलाई नगर प्रमुख वासुदेव थापाले महाकालेश्वर तथा राधाकृष्ण मन्दिरको पिठाधिस नियुक्त गर्दै अभिनन्दन गरे।
‘वृन्दावन धामले सूर्यविनायकमा पर्यटकीय चहलपहल बढाउनेमा हामी विश्वस्त छौँ। यहाँसम्म आउन आवश्यक पुर्वाधार निर्माण गर्ने हामी आजैबाट काम थाल्नै छौँ।’ नगर प्रमुख थापाले कृष्णजी महाराजलाई मन्दिरको पिठाधिसको जिम्मेवारी सुम्पँदै भने।
पालिकासँग सहकार्य गरेर धार्मिक क्षेत्रको विकास गर्न पाउँदा खुसी लागेकाे कृष्णजी महाराजले बताए। ‘नगर प्रमुख ज्युले गरौँ भनेपछि हुन्छ भने। उहाँहरूले यो क्षेत्रको विकास गर्नुहुन्छ, म खुब प्रचार गर्ने छु।’ उनले भने।
कार्यक्रममा शितल कृष्णजी महाराज र नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिमसिना, वडा नम्बर १० का अध्यक्ष शिवराम राउत लगायत चार धामबाट फर्किएका तीर्थ यात्रीको उपस्थिति थियो। तीर्थ यात्रीले कार्यक्रममा उपस्थितहरूलाई तीर्थ भोज गराएका थिए।