बेइजिङ- चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेको छ।
यस वर्ष मेमा मात्र ७ लाख १७ हजार थान विद्युतीय कार बिक्री भएको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’को तथ्यांकले देखाएको छ।
गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भई ७ लाख १३ हजार युनिट पुगेको थियो। मेमा चीनमा एनईभीको बजार हिस्सा ३०.१ प्रतिशत पुगेको थियो।
यस वर्षको पहिलो पाँच महिनामा विद्युतीय सवारी साधन बिक्री एक वर्ष पहिलेको तुलनामा ४६.८ प्रतिशतले वृद्धि भई २९ लाख चार हजारवटा पुगेको छ। चीनको एनईभी उत्पादन ३० लाख युनिटभन्दा बढी छ। यो वर्ष एनईभी उत्पादन ४५.१ प्रतिशतले वृद्धि भएको छ।
सोही अवधिमा एनईभीको निर्यात १६० प्रतिशतले वृद्धि भई ४ लाख ५७ हजार युनिट पुगेको तथ्यांकले देखाएको छ। एनईभी खपतमा अग्रपंक्तिमा रहेर चीनले आफ्नो एनईभी बजारको विकासलाई कायम राख्न विशेष गरी यसको विशाल ग्रामीण क्षेत्रमा सहयोगी नीतिहरू ल्याएको छ।
गत महिना चीनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई एनईभी खरिद र प्रयोग गर्न सहयोगका लागि दिशानिर्देश नै जारी गरेको थियो। र, चार्जिङ पूर्वाधारको निर्माणलाई बढावा दिन ध्यान केन्द्रित गरिएको थियो।