सुनसरी- बराहक्षेत्र वडा नम्बर १ कार्यालयबाट सूर्यकुण्ड आधारभूत विद्यालयलाई कम्प्युटर २ थान, प्रोजेक्टर १ थान, प्रिन्टर (फोटोकपी, स्क्यानर) १ थान र लेमिलेसन मेसिन १ थान हस्तान्तरण भएको छ।
मंगलबार वडा नम्बर १ का अध्यक्ष किसान थापा मगरले ती सामग्रीहरू ग्रामीण बस्ती सूर्यकुण्डमा पुगेर विद्यालयका प्रधानाध्यापक दिनेश कार्कीलाई हस्तान्तरण गरेका हुन्।
बराहक्षेत्र नगरपालिकाको ग्रामीण बस्ती सूर्यकुण्ड आधारभूत विद्यालयमा कम्प्युटर, प्रोजेक्टर, प्रिन्टरलगायत सामग्रीको अभाव थियो। विद्यालयलाई शिक्षण सिकाइमा सहयोग गर्ने उद्देश्यले वडाध्यक्ष मगरले प्रधानाध्यापक कार्कीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
सो विद्यालयले यसअघि कम्प्युटर र प्रोजेक्टरको अभावमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिँदै आएको थियो।
प्रधानाध्यापक कार्कीले वडा कार्यालयबाट प्राप्त सहयोगबाट विद्यार्थीहरूमा प्रयोगात्मक र व्यावहारिक ज्ञान वृद्धिमा सहयोग पुग्ने बताए। र, त्यसका लागि वडाध्यक्ष मगरलगायतलाई महत्त्वपूर्ण सामग्रीहरू उपलब्ध गराउन उल्लेख्य भूमिकाका लागि धन्यवाद व्यक्त गरे।