भैरहवा- बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्मित ‘लुम्बिनी केबलकार’ गणतन्त्र दिवसका अवसरमा आजदेखि सञ्चालनमा आउँदैछ।
बुटवल र पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भइसकेको बुटवल हिल्स लुम्बिनी केबलकार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए। बुटवलमा सञ्चालन हुने केबलकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटकलाई आकर्षित गर्ने र लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउने आशा रहेको ढकालले बताए।
बुटवल हिल्सले एकीकृत पर्यटकीय विकासमा टेवा पुर्याउने र भारतीय पर्यटकको मुख्य केन्द्र बुटवल-बसन्तपुर हुने आशा ढकालले व्यक्त गरे।
करिब ५ अर्ब लगानीमा निर्माण भएको केबलकार व्यावसायिक रूपमा आजदेखि सञ्चालनमा आए पनि २५ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधिवत् उदघाटन गर्ने तालिका छ।
यो केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ फागन ०७७ मा गरेका थिए। केलबकारसँगै बसन्तपुरमा कामाक्षादेवीको मन्दिर पनि निर्माण भएको छ। र, १५० बेडसहितको होटल, रेस्टुराँ, बार र पार्क निर्माण भइरहेको ढकालले जानकारी दिए।
ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायत कम्पनीहरूमा आईएमई ग्रुपको हिस्सेदारी छ।