काठमाडौं- रकेटलाई कुनै ग्रहमा पुग्न नभई नहुने चिज हो, त्यसमा लाग्ने इन्धन। हरेक रकेटमा पर्याप्त इन्धन हुनुपर्छ। जब रकेट उड्न थाल्छ, तब धर्तिको गुरुत्वाकर्षणले पनि सँगसँगै काम गरिरहेको हुन्छ। त्यसैले कुनै पनि रकेट तीव्र गतिमा उड्न धर्तिको गुरुत्वाकर्षण बलले रोक्न खोज्छ र त्यसबाट बाहिर जान पनि रकेटलाई इन्धनको आवश्यकता पर्छ।
यदि रकेटलाई अन्य ग्रहमा पुग्नुछ भने त्यसका लागि सबैभन्दा पहिले समय हेरिन्छ। जुन ग्रहमा रकेटलाई पठाइँदै छ, त्यो ग्रह र पृथ्वीको दूरी कुन समयमा नजिक हुन्छ भन्ने हेरिन्छ। यसरी समय हेरेर रकेटलाई पठाइयो भने एक त समय र दूरी कम हुन्छ भने अर्को रकेटमा लाग्ने फ्युल पनि बचत हुन्छ।
उदाहरणका लागि पृथ्वी र मंगल ग्रह दुई वर्षमा एकपटक एकअर्काको सबैभन्दा नजिक हुन्छन्। त्यसैले यदि कुनै रकेटलाई मंगल ग्रहमा पठाउनु छ भने यस्तै समय हेरेर लन्च गर्ने गरिन्छ।
यदि रकेटलाई सबैभन्दा टाढाको ग्रहमा पठाउनु छ भने त्यो समयमा निकै ध्यान दिनुपर्छ। किनकि, उड्दै गर्दा अन्य ग्रहको गुरुत्वाकर्षण बलको सम्पर्कमा आउन सक्ने भएकाले निकै सावधानी अपनाउनुपर्छ। कुनै पनि ग्रह यथास्थानमा बस्दैन, हरेक ग्रह हजारौं किलोमिटर पर सेकेन्डका गतीले सूर्यको परिक्रमा गर्ने गर्छन्। त्यसैले रकेटलाई इलिप्टिकल अर्बिटमै लन्च गर्न आवश्यक ठानिन्छ।
इलिप्टिकल अर्बिटलाई होम एन्ड टान्स्फर अर्बिट पनि भनिन्छ। त्यसकारण पनि कुनै पनि रकेटलाई अन्तरिक्षमा त्यसै पठाइँदैन। यसका लागि फिक्स समय र मिति तोकिन्छ। जब कुनै रकेटलाई इलिप्टिकल अर्बिटमा लन्च गरी अन्य ग्रहमा पठाइन्छ, तब रकेट आफूले तय गरेको केन्द्रित विन्दुमा पुग्छ। त्यसको जाँच गर्नका लागि अन्तरिक्षमा स्याटेलाइट वा स्पेसक्राफ्टलाई रकेटको माध्यमबाट पठाइन्छ।
बुध र शुक्र जस्ता ग्रहमा रकेट लन्च गर्नका लागि वैज्ञानिकलाई अझ बढी चुनौती रहन्छ। किनकि, यी दुवै ग्रह सूर्यको नजिक हुन्छन्। त्यसकारण सूर्यको नजिक रहेका यी दुई ग्रहमा रकेट पठाउँदा सूर्यले आफ्नो गुरुत्वाकर्षण बलले रकेटलाई आफूतर्फ आकर्षण गर्न सक्ने उच्च सम्भावना रहेकाले निकै सावधानी अपनाउनुपर्छ। यदि सूर्यले रकेटलाई आफूतर्फ आकर्षण गर्यो भने रकेट नष्ट हुन्छ। यसकारण मर्करी र भेनस ग्रहमा रकेट पठाउन वैज्ञानिकलाई अझ बढी मिहिनेत गर्नुपर्छ।
हरेक ग्रहमा पुग्न कति समय लाग्छ ?
बुध (मर्करी)
मर्करी सूर्यको सबैभन्दा नजिकको ग्रह हो। यो आठवटा ग्रहमध्ये सबैभन्दा सानो पनि हो। यो ग्रह पृथ्वी ग्रहबाट ९ करोड १० लाख किलोमिटर टाढा छ। यो ग्रहमा अहिलेसम्म सबैभन्दा कम अध्ययन र अनुसन्धान भएको छ। किनकि, बुध ग्रहमा रकेट वा स्पेसक्राफ्ट पठाउन जोखिमयुक्त मानिन्छ। यदि मर्करीमा रकेट पठाइयो भने सूर्यको गुरुत्वाकर्षण बलले आफूतर्फ आकर्षण गरी रकेटलाई नष्ट गरिदिने भएकाले नै अन्य ग्रहभन्दा कम मिसन गरिएको छ।
यसकारण यदि कुनै रकेटलाई बुध ग्रहमा पठाउनु छ भने त्यो रकेटको गति यति यति धेरै तीव्र राख्नुपर्छ कि जो अन्तरिक्षमा बन्दुकबाट निस्केको गोलीजस्तै हुनुपर्छ। बुध ग्रहमा रकेट पठाउनुभन्दा पहिले होम एन्ड अर्बिटमै रकेटलाई पठाउनुपर्छ। बुध ग्रहको तुलनामा यो अर्बिट ३१ करोड किलोमिटर लामो हुनुपर्छ। त्यति गतिको रकेटलाई बुध ग्रहमा पुग्न १०६ दिन लाग्छ। अर्को रकेटको गति निकै तीव्र राख्नुपर्छ।
शुक्र (भेनस)
बुधपछि सूर्यको नजिकको अर्को ग्रह हो शुक्र। यो ग्रह पृथ्वीदेखि ४ करोड १० लाख किलोमिटर टाढा छ। अहिलेसम्म शुक्र ग्रहमा जे जति स्पेसक्राफ्ट पठाइएका छन्, तिनीहरू सबैको समय एकनाशको छैन। हरेकको पुग्ने समय फरक छ। कुनै पनि रकेटलाई शुक्र ग्रहमा पुग्नका लागि १५० दिन लाग्छ।
सन् १९६१ मा शुक्र ग्रहमा पहिलो मिसन पठाइएको थियो। भेनिरा-वान नामको रकेट लन्च गरिएको थियो, जसले पृथ्वीबाट शुक्र ग्रहसम्म पुग्न ९७ दिन लगाएको थियो। सन् २००६ मा इयासेस भेनस एक्सप्रेसलाई भेनस ग्रहमा पुग्न १५३ दिन लागेको थियो। एक समयमा वैज्ञानिकले यस्तो पनि रकेट पठाएका थिए, जसलाई भेनस ग्रहमा पुग्न ४६३ दिन लागेको थियो।
मंगल ग्रह (मार्स)
तेस्रो ग्रह हो मंगल। यो पृथ्वीबाट ५ करोड ६० लाख किलोमिटर टाढा छ। अहिलेको प्रविधि प्रयोग गरेर मंगल ग्रह पुग्न पृथ्वीबाट ८ महिना लाग्छ। साथै यो ग्रहको होम एन्ड अर्बिटको दूरी ७० लाख किलोमिटर बराबर छ।
यो ग्रहमा गरिएका मिसनमा पनि सबै एउटै समयमा पुगेका छैनन्। कुनै मिसनलाई मंगल ग्रह पुग्न धेरै समय लागेको छ भने कुनै थोरै समयभित्र पुग्न सफल भएका छन्। मेरिनर ६ र मेरिनर ७ लाई मंगल ग्रह पुग्न १५६ र १३१ दिन लागेको थियो। तर कति यस्ता पनि मिसन थिए, जसलाई मंगल ग्रहमा पुग्न ३०० दिनभन्दा पनि बढी समय लागेको थियो।
बृहस्पति (जुपिटर)
बृहस्पति ग्रह आठ वटामध्ये सबैभन्दा ठूलो हो। पृथ्वीबाट बृहस्पति ग्रह ६२ करोड किलोमिटर टाढा छ। यो ग्रहमा सबैभन्दा पहिले सन् १९७२ मा पायनियर १० मिसन लन्च गरिएको थियो। जसलाई बृहस्पति ग्रहमा पुग्न ६४० दिन लागेको थियो। योभन्दा पहिले बृहस्पतिमा ग्यालिलियो रकेट पठाइएको थियो, जसलाई २ हजार २४२ दिन लागेको थियो।
शनि (स्याटर्न)
बृहस्पतिको अर्को ठूलो ग्रह हो शनि। जुन पृथ्वीबाट १ अर्ब २७ करोड ७० लाख किलोमिटर टाढा छ। शुरुको मिसनलाई पृथ्वीदेखि शनि ग्रहमा पुग्न साढे ६ वर्ष लागेको थियो। सन् १९८० मा ‘भोयजर वान’ लाई शनि ग्रहमा पठाइएको थियो, जुन शनि ग्रहमा १ हजार १६५ दिन (तीन वर्षभन्दा बढी)मा पुग्न सफल भएको थियो।
त्यसपछि ‘भोयजर टु’लाई पनि शनि ग्रहमा पठाइएको थियो। जसलाई ४ वर्ष लागेको थियो शनि ग्रहमा पुग्न।
अरुण (युरेनस)
अर्को ग्रह हो युरेनस, जुन पृथ्वीबाट २ अर्ब ७२ करोड किलोमिटर टाढा छ। अहिलेसम्म एक मिसन मात्र यो ग्रहमा गरिएको छ। भोयजर टु मात्र यो ग्रहमा पुग्न सफल भएको छ। जसलाई युरेनससम्म पुग्न साढे ८ वर्ष लागेको थियो।
बरुण (नेप्च्युन)
नेप्च्युन ग्रह सबैभन्दा टाढाको ग्रह हो। जसको दूरी पृथ्वीबाट ४ अर्ब ३४ करोड ७० लाख किलोमिटर टाढा छ। यो ग्रहमा पनि अहिलेसम्म एक मात्र रकेट पुग्न सफल भएको छ। जो भोयजर टु हो। जसलाई पृथ्वीबाट नेप्च्युनसम्म पुग्न साढे १२ वर्ष लागेको थियो।