काठमाडाैं– सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ।
विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ। यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वर्षायाममा ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्करूपमा बिजुली उपलब्ध गराउने घोषणा गरिएको छ।
हाल २० युनिट बराबरको बिजुली खपत गर्नेले रु ३० मात्रै तिरे हुने व्यवस्था छ। देशव्यापीरूपमा ऊर्जाको माग बढाउने र आन्तरिक खपत बढाउने लक्ष्यका साथ सरकारले यस्तो व्यवस्था गरेको हो।
वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भए पनि हिउँदमा भने आयात गर्नुपर्ने अवस्थामा नै रहेको छ। यस्तै आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली उपलब्ध गराउने लक्ष्य राखिएको छ।
त्यस्तै विपन्न नागरिकको घरमा सरकारले निःशुल्करूपमा बिजुलीको मिटर जडान गरिदिने भएको छ।
खाना पकाउनका लागि एलपी ग्यासको क्रमशः विस्थापन गर्दै जाने नीति लिएको सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने भएको छ।