सुनसरी- धरान उपमहानगरपालिकाले बराहक्षेत्र नगरपालिका-५ स्थित अमाह सिमसारमा गिद्धे नजर लगाएपछि बराहक्षेत्रका मेयर रमेश कार्की र वडा नम्बर १ का अध्यक्ष किसान थापा मगर ग्रामीण बस्ती चावचा पुगेका छन्।
धनकुटा र सुनसरी सीमा भएर बहने कोकाहा नदीबाट धरान खानेपानी लान जनश्रमदान अभियान चलाइरहेका मेयर हर्क साम्पाङको अभियानमा खाँदै गरेको गाँसमा ढुंगा परेजस्तै भएको छ।
धरानका उपमेयर अइन्दबिक्रम वेघाले बराहक्षेत्र-५ मा रहेको अमाह सिमसार धरान उपमहानगरपालिकाभित्र पर्छ भन्ने उत्ताउलो अभिव्यक्ति दिएपछि बराहक्षेत्रका मेयर रमेश कार्की तथा वडा नम्बर १ देखि ११ सम्मका अध्यक्षलगायत सचेत नागरिकहरू सशंकित र भयभित भएका छन्।
बराहक्षेत्रका मेयर रमेश कार्कीले भने बराहक्षेत्र-५ स्थित अमाह सिमसार दाबी गर्नेले चावचालगायत भूभाग पनि धरान उपमहानगरको हो भन्न सक्ने हुँदा जिल्ला प्रशासन, नापी विभाग, जिल्ला समन्वय समितिमा बसेर छलफल गरी समस्याको समाधान नगरी खानेपानीको पाइपलाइन विस्तार नगर्न भनेका छन्।
बुधबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गर्दै बराहक्षेत्र-५ को अमाहा सिमसार पनि धरानमा पर्ने दाबी गरेका थिए। यसअघि धरानका मेयर हर्क साम्पाङले खानेपानी लाने विषयमा आफूहरूबाट गल्ती भएको स्वीकार गरेका थिए।
हर्क सम्पाङ र रमेश कार्कीबीच सहकार्य, समन्वय गरेर मात्र काम अगाडि बढाउने विषयमा मौखिक सहमति भएको थियो। धरानका मेयरले सहमति उल्लंघन गरी वडा नम्बर १ फूलबारीमा हजारौं संख्यामा श्रमदान गर्नेहरू उतारी पाइपलाइन बिछ्याइरहेको स्थानीय बासिन्दाले जनाएका छन्।
बिहीबार बराहक्षेत्रका मेयर रमेश कार्की र वडा १ का अध्यक्ष किसान थापा मगरलगायतको टोली चावाचा पुगेर कोकाहा खोलाको खानेपानी लाने अभियानमा अवरोध गरिदिएका छन्।
मेयर कार्कीले भने जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापीसँग छलफल तथा अन्तरक्रिया गरेर मात्र काम अगाडि बढाउन फिल्डमा खटिएका दिनेश वान्तवालाई आग्रह गरेका थिए।
‘अमाहा सिमसार हाम्रो भन्ने कुरा आइसक्यो, अब भोलि पाइप बिछ्याइएको स्थान धरान वडा नम्बर २० पर्छ भन्न बेर छैन। त्यसैले समस्याको समाधान खोजौं। अनि मात्र काम अगाडि बढाउनु होला,’ मेयर कार्कीले भने।
गत ११ वैशाखमा बराहक्षेत्र कार्यपालिकाको बैंठकको निर्णयले धरान उपमहानगरपालिकालाई खानेपानी लाने विषयमा संस्थागत निर्णयको माग गरी पत्र पठाइसकेको छ।