सुनसरी- बराहक्षेत्र नगरपालिका-२ स्थित सूर्यमुखी फूलमा टिकटको बनाउनेहरूको ओइरो लागेको छ।
वर्ष ७१ का खडक कटुवालले ३७ वर्ष शिक्षक पेशा गरेर अवकाशप्राप्त जीवन सप्तकोशीछेउ नदी उकासस्थित आफ्नो जग्गामा परीक्षण लागि सूर्यमुखी फूलको खेती गरेका छन्। उनी भन्छन्, ‘परीक्षणका रूपमा १५ कठ्ठामा सूर्यमुखी फूल खेती गरेको छु।’
उक्त जमिनमा सिँचाइ अभाव हुँदा पनि अहिले ढकमक्क सूर्यमुखी फूल फुलिरहेको छ। अहिले युवा पुस्तादेखि वृद्धवृद्धासम्म हुलका हुल टिकटक बनाउन, फोटो खिच्न र मनोरञ्जन गर्न धरान, इटहरी, विराटनगर, उदयपुरबाट आइरहेका छन्।
यसले गर्दा चतरालाई पर्यटकीय क्षेत्र विकास हुन सक्ने सम्भावना रहेको उनी बताउँछन्। सूर्यमुखी फूल फूलेको स्थानमा अन्य प्रजातिका फूल पनि रोपी बगैंचाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।
केन्द्र र प्रदेश सरकार तथा नगरपालिकाले उक्त जमिनमा सिँचाई, मल, बीउको उचित व्यवस्था गरिदिएमा धान,मकै, कोदो र तरकारी खेती प्रशस्त मात्रामा हुन सक्ने कटुवाल बताउँछन्। हालसम्म कृषिअन्तर्गत राज्यको संयन्त्रको नजर पुग्न नसकेको उनको भनाइ छ।