सुनसरी- चतरा अस्पतालले ५० औ वर्ष पूरा गरी आज औपचारिक कार्यक्रम गरी स्वर्ण जयन्ती भव्य रुपमा मनाएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला र बराहक्षेत्र नगर प्रमुख तथा अस्पतालका संरक्षक रमेश कार्कीले समारोहको संयुक्त उदघाटन गरेका थिए।
२५ असार ०२९ मा भएको अस्पताल ०३२ सालमा इलाका स्वास्थ्य चौकी, २१ माघ ०५६ मा प्राथमिक स्वास्थ्य केन्द्र, १ मंसिर ०७४ मा संघीय सरकारबाट पालिकालाई हस्तान्तरण भएको थियो। २५ माघ ०७८ मा यसलाई १५ शय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको थियो।

त्यसयता सुनसरी, उदयपुर, धनकुटा र भोजपुरका बासिन्दाले गुणस्तरीय सेवा पाइरहेका छन्। अस्पताल रहेको वडा बराहक्षेत्र नगरपालिका-२ लाई २५ माघ ०७८ मा देशकै पहिलो ‘पूर्ण स्वास्थ्य बीमायुक्त’ घोषणा गरिएको थियो। उक्त वडाका ९५% मानिसको स्वास्थ्य बीमा गरिएको छ।
डा. अनिल गिरीका अनुसार प्राथामिक स्वास्थ्य केन्द्र चतराबाट दैनिक १५० देखि २०० जना बिरामीलाई सार्वजनिक विदाको दिनबाहेक बिहान ७ देखि साँझ ८ बजेसम्म निःशुल्क ओपीडी सेवा, चौबीसै घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, एक्सरे, प्रसुति सेवा दिइने गरेको छ। यस्तै, हरेक शनिबार मेडिसिन विशेषज्ञ, बाल रोग, हाडजोर्नी, नसा रोग, आँखा, भिडियो एक्सरे र फिजियोथेरापी तथा वार्डमा भर्ना भई गरिने उपचार सेवा दिइँदै आएको छ।

चारजना डाक्टरहरू अनिल गिरी, विवेक बर्मा, सुरज थापा मगर रा गिरेन्द्र यादवसहित ४७ जनाको स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य सेवा दिँदै आएको छ।
समारोहमा महिला स्वास्थ्यकर्मीहरूले राष्ट्रिय गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा निम्न कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो।
(१) उत्कृष्ट बौद्धिक व्यक्तित्व आव ०७८-७९
– योगेन्द्र कट्टेल, सिअहेव (छैटौं तहका अधिकृत)
(२) पञ्च वर्षीय उपलब्धी पुरस्कार
(१) मेनुकला राई, सिअनमि (निरीक्षक छैटौं)
(२) विकास सुनुवार, अहेव
(३) उत्कृष्ट कर्मचारी (आव ०७८-७९)
(१) डा सुरज थापा मगर, मेडिकल अधिकृत
(२) सविना कटुवाल, अहेव

(४) उत्कृष्ट नव आगन्तुक कर्मचारी (आव ०७८-७९)
(१) कुलानन अभिलासी, सिअहेव (सहायक पाँचौं)
२) वर्षा साँवा, अहेव
(५) उत्कृष्ट विभागीय प्रमुख (आव ०७८-७९)
(१) सविना राई, बीएमएलटी, ल्याब विभाग प्रमुख
(६) उत्कृष्ट विभाग (आव ०७८-७९)
(१) मातृशिशु तथा प्रसुती विभाग
(७) उत्कृष्ट ड्युटी जोडी कर्मचारी (आव ०७८-७९)
(१) दीपक गिरी, कार्यालय सहयोगी
(२) जगतबहादुर बस्नेत, कार्यालय सहयोगी
चतरा अस्पतालको निवर्तमान संरक्षक निलम खनाल, निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराईलगायत व्यक्तिहरूलाई समारोहमा सम्मान गरिएको थियो।
डा. अनिल गिरीका अनुसार यसअघि प्राथमिक स्वास्थ्य केन्द्र, चतरालाई बोधिसत्व विहार बूढानीलकण्ठ काठमाडौं र सुमी लिम्बू राईले अक्सिजन कन्सन्ट्रेटर ३ थान, पल्स अक्सिमिटर, पीपीई तथा औषधि, मास्कलगायत ५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरू प्रदान गरेका थिए। ती सामग्री स्थानीय पत्रकार हिमाल राईमार्फत उपलब्ध गराइएको थियो।