काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सुविधाजनक बहुमतसहित प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।
प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतमाथि आइतबार राति प्रतिनिधिसभामा भएको मत विभाजनमा उनले सुविधाजनक बहुमत हासिल गरेका हुन् ।
प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको थियो । यस्तै, एकजना सांसद तटस्थ बसेका थिए ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका ३२, जनमोर्चाका एक, स्वतन्त्र एक तथा एमालेका माधवकुमार नेपाल र केपी ओली समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।
एमालेको ओली समूहका ८३ सांसदले मात्र प्रस्तावको विपक्षमा मतदान गरे । विश्वासको मतमाथि भएको छलफलमा भाग लिन नआएका निवर्तमान प्रधानमन्त्री केपी ओली मतदानमा भने सहभागी हुन आएका थिए ।
एमालेको माधवकुमार नेपाल समूहका १० सांसद भने विश्वासको मत विभाजनमा सहभागी नभई संघीय संसद् परिसरबाट बाहिरिएका थिए । अन्य आठ सांसद पनि मतदानमा सहभागी भएनन् । प्रतिनिधिसभामा तत्काल कायम रहेका दुई सय ७१ सांसदमध्ये चारजना निलम्बित छन् ।