काठमाडौं- बुद्ध एयरले २५ असारदेखि काठमाडौं-राजविराज रुटमा पुनः उडान शुरु गर्ने भएको छ।
बुद्ध एयरका अनुसार उक्त रुटमा दैनिक एक उडान गर्न लागिएको हो। यस रुटमा उडान गर्ने यात्रुले बुद्धको वेबसाइट वा ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन्।
बुद्धले हरेक उडान अगाडि जहाजलाई संक्रमणरहित सरसफाइ गर्ने गरेको छ। यस्तै, उडानका क्रममा यात्रुको तापक्रम जाँच, फेससिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड स्यानिटाइज गर्ने गरेका कारण आफ्ना सबै उडान संक्रमणरहित हुने गरेको बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरसँग हाल ७२ सिट क्षमतायुक्त एटीआर७२-५०० सिरिजका १०, ४७ सिट क्षमतायुक्त ‘एटीआर४२-३२०’ सिरिजका तीन र १९ सिटयुक्त ‘बिचक्राफ्ट १९००डी’ सिरिजका दुई गरी १५ वटा जहाज छन्।
निषेधाज्ञाअघि बुद्ध एयरले दैनिक एक सय २० भन्दा बढी उडानमार्फत दैनिक औसत सात हजार यात्रुलाई गन्तव्य पु¥याउँदै आएको थियो। अहिले निषेधाज्ञाबीच सरकारले कूल आन्तरिक उडानको ५० प्रतिशत मात्र गर्न दिएका कारण बुद्धको भागमा दैनिक करिब तीन दर्जन उडान परेका छन्।