सन्जोग शिवाकोटी
काठमाडौं- मेलम्ची नदीमा २०७७ साल असार १ गते मंगलबार साँझदेखि आएको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा घरलगायतका संरचनालाई क्षति गर्नुका साथै मानवीय क्षतिसमेत भएको छ। बाढी सुरु भएदेखि नै तस्बिर र भिडियोहरु सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरेका छन्। #prayforsindhupalchowk र #prayformelamchi ह्यासट्यागसहित सिन्धुपाल्चोकमा गएको बाढीका तस्बिर र भिडियो भन्दै सेयर गरिएको छ।
फेसबुकमा यहाँ यहाँ र ट्वीटरमा यहाँ यहाँ ती तस्बिर सेयर गरिएका छन्। टिकटकमा पनि #prayforsindhupalchok ह्यासट्याग सहित यहाँ यहाँ भिडियोहरु सेयर भएका छन्। यसरी सेयर भएका तस्बिरहरु मध्ये अधिकांश हालकै घटनाका भएपनि केही तस्बिर नेपालकै पहिलेका बाढी र पहिरोका भएको साउथ एसिया चेकले फेला पारेको छ।
हामीले तथ्य जाँच गरेका कैयौं तस्बिरहरूमध्ये चारवटा तस्बिर भ्रामक रहेको फेला परेको छ।
पहिलो तस्बिर

माथि देखिएको बाढीको तस्बिर सिन्धुपाल्चोककै हो तर यो यस वर्षको बाढीको नभई पोहोर सालको बाढीको तस्बिर हो। उक्त तस्बिरलाई हामीले गुगल रिभर्स सर्च गरी हेर्दा हिमालयन टाइम्सको एक समाचारमा फेला पार्यौँ। २०७७ साल असार २५ गते प्रकाशित उक्त तस्बिर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजारको रहेको पाइयो। उक्त तस्बिरको स्रोत राष्ट्रिय समाचार समिति उल्लेख गरिएको छ।
दोस्रो तस्बिर

यो तस्बिर सिन्धुपाल्चोक जिल्ला हुँदै जाने अरनिको राजमार्गमा सँगैको भोटेकोशी किनारको बस्तीमा गएको पहिरोको रहेछ। हालैको पहिरोको तस्बिर भन्दै सेयर गरिएको यो तस्बिर ४ वर्ष अघिको भएको फेला परेको छ। हिमालयन टाइम्स प्रकाशित एक समाचार अनुसार उक्त तस्बिर २०७३ असार २५ गते खिचिएको हो। उक्त तस्बिर तपसि धम्मा (Ttapassi Dhamma) नामक फेसबुक एकाउन्टबाट लिइएको उल्लेख छ।
तेस्रो तस्बिर

यो तस्बिरलाई हामीले गुगल रिभर्स सर्च गर्दा द काठमाण्डु पोष्टको एक समाचारमा फेला पार्यौँ। २०७४ असार १४ गते प्रकाशित ‘दोलखाको पहिरोमा ४ जना बेपत्ता’ शीर्षकको समाचारमा यो तस्बिर प्रयोग गरिएको छ। तर उक्त तस्बिरमा विस्तृत जानकारी दिइएको छैन भने स्रोत पनि खुलाइएको छैन।
चौथो तस्बिर

यो तस्बिरलाई हामीले गुगल रिभर्स सर्चमार्फत सेतोपाटीमा फेला पार्यौँ। ‘आजका तस्बिरहरु असार २९’ शीर्षक समाचारमा उक्त तस्बिर तनहुँमा आएको बाढीको रहेको उल्लेख छ। तनहुँको बुल्दीखोलामा आएको बाढीले डुबानमा परेको घरको यो तस्बिर राष्ट्रिय समाचार समितिका कृष्ण न्यौपानेले लिएका हुन्। सेतोपाटीमा असार २९ मात्र लेखेको हुनाले कुन सालको तस्बिर हो यो भनी पत्ता लगाउन ‘किवर्ड सर्च’ गर्दा हामीले उक्त तस्बिर अंग्रेजी दैनिक द राइजिङ नेपालले प्रकाशित गरेको फेला पार्यौँ। उक्त तस्बिर २०७७ साल असार २९ को रहेछ।
यसरी सिन्धुपाल्चोकमा आएको बाढीको तस्बिरहरुमध्ये पहिलेका बाढी पहिरोका तस्बिर समेत राखी सामाजिक सञ्जालमा सेयर गरी भ्रम फैलाइएको छ।
(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)