सुनसरी- नेपाल संयुक्त दलित समाज बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको छुवाछुतमुक्त समाज निर्माणका लागि पत्रकारहरूको भूमिकाबारे एकदिने अन्तरक्रियात्मक सेमिनार शनिबार आफनै भवन वडा नम्बर ६ चक्रघट्टीमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाभित्र रहेका पत्रकार र दलित अगुवाबीच रचनात्मक छलफल भएको थियो। पत्रकार भूमिका रसाइलीले जातको आधारमा अझै पनि समाज छुवाछुतमुक्त हुन नसकेको उल्लेख गर्दै भनिन्, ‘दलित समुदायको घरमा विवाह, ब्रतबन्ध, पुराण, पूजालगायत शुभकार्य गर्दा अन्य समुदायका आमन्त्रित मानिसहरू आउने तर केही पनि नखाइदिने र छुट्टै भान्सेले दलितबाहेक अन्यले पकाएको मात्र खाने गरेका छन्। अन्य समुदायका शुभकार्यमा जाँदा पनि दलित समुदायका व्यक्तिहरू खाने कुरा छोइदिएमा दुर्व्यवहार गर्ने गरेको तीतो यथार्थ हो।’
बराहक्षेत्र नगरपालिका उपप्रमुख आनन्दकुमारी राईले भनिन्, ‘सरकारले छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि जातको आधारमा छुवाछुतमुक्त हुन सकेको छैन। परापूर्व कालदेखि दलित समुदायका व्यक्तिहरूले छोएको पानी नचल्ने भन्ने रुढीवादी संस्कार अझै छँदैछ।’
हाल समाजमा केही न केही परिवर्तन हुँदै आएको उल्लेख गर्दै उनले दलित समुदायका व्यक्तिहरूले छोएको नखाने प्रचलन समाजमा घट्दै गएको र समय परिवर्तन सँगसँगै रुढीवादी संस्कार विस्तारै परिवर्तन हुँदै जाने बताइन् । दलित समुदायका व्यक्तिहरूले बजाउने नौमती बाजा अन्य समुदायका व्यक्तिहरूले पनि बजाएर कला संस्कृति जगेर्ना गरिरहेको उनले उल्लेख गरिन्।
२१ जेठ ०६३ मा सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। हरेक वर्ष २१ जेठलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउने गरिन्छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य पीबी दियालीले कार्यक्रममा सहजकर्ताको भूमिका वहन गरेका थिए। उनले भने, ‘नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुतविरुद्धको हक र सामाजिक न्यायको हकजस्ता मौलिक हकको व्यवस्था गरिएको उल्लेख भए पनि व्यवहारमा लागू हुन सकेको छैन।’
नेपालमा लोकतन्त्रको स्थापनासँगै सबै किसिमका जातीय विभेद अन्त्य गर्न पटक-पटक सार्वजनिक घोषणा भएका छन्। तर, समाजमा रहेको चेतनास्तरका कारण व्यवहारमा जातीय भेदभाव तथा छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन। ३२ साउन ०५८ मा छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोग स्थापना भएको थियो।