नयाँदिल्ली- इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले देशभर ‘एच३एन२’ भाइरसको प्रकोप फैलिएको बताएको छ।
उक्त भाइरसका कारण खोकी र ज्वरोको प्रकोप फैलिएको छ। यो एक इन्फ्लुएन्जा भाइरस हो।
करिब तीन महिनायता उक्त भाइरसको प्रकोप देखिएको आईसीएमआरका विज्ञहरूले बताएका छन्। इन्फ्लुएन्जा भाइरसको ‘के ए सबटाइप एच ३ एन २’ फैलिएको उनीहरूले जनाएका छन्। सोही कारण पछिल्ला दिनमा खोकी र ज्वरोका बिरामीको चाप अस्पतालमा बढेको छ।
इन्डियन मेडिकल एसोसिएसनले पनि मौसमी ज्वरोको प्रकोप देखिएको बताएको छ। उक्त भाइरस संक्रमण भएका व्यक्तिमा करिब एक साता त्यसको प्रभाव देखिने एसोसिएसनको भनाइ छ। ज्वरो एक सातामा ठीक भए पनि खोकी तीन सातासम्म रहने विज्ञले जनाएका छन्।
चिकित्सकको परामर्शबिना एन्टिबायोटिकको प्रयोग नगर्न पनि एसोसिएसनले आग्रह गरेको छ।
एसोसिएसनको भनाइमा वायु प्रदूषणका कारण पनि श्वास नलीमा संक्रमणका कारण १५ देखि ५० वर्षका व्यक्तिमा खोकीको समस्या देखिएको छ।
शरीरमा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुने भएकाले एमोक्सिक्लाब र एजिथ्रोमाइसिनजस्ता एन्टिबायोटिक आफूखुशी सेवन नगर्न चिकित्सकले सुझाएका छन्।